जनकपुरधाम : समाजवादी पार्टीका महन्थ-महतो पक्षधर संघीय सरकारमा सहभागि भएपछि प्रदेश २ मा उपेन्द्र यादव पक्षधरले नेपाली काँग्रेस र माओवादी केन्द्रसंग सत्ता साझेदारी गर्न छलफल तीव्र बनाएको छ । सोमबार बिहानै देखि समाजवादी पार्टीको नेताहरुले आफु नेतृत्वको सरकार बनाउन नेपाली काँग्रेस र माओवादी केन्द्रसंग छलफलमा तीव्रता दिएको हो ।

समाजवादी पार्टीका महन्थ-महतो पक्षधर नेताहरु संघीय सरकारमा सहभागी पछि प्रदेश २ को राजनीति तातिएको छ । समाजवादी पार्टीका अध्यक्ष महन्त-महतो पक्षका नेताहरु सरकारमा सहभागिता जनाएपछि त्यसको प्रभाव प्रत्यक्ष प्रदेश २ मा देखिएको हो । प्रदेशमा सत्ता साझेदार दल तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल र राष्ट्रिय समाजवादी पार्टीमा फूट भएको हो ।

जसपाले प्रदेश २ मा आईवार साँझ १ मन्त्री र ३ राज्यमन्त्रीलाई पदमुक्त गरेसंगै काँग्रेस र माओवादी सहित माधव पक्षलाई सरकारमा ल्याउन कसरत सुरु भएको जसपाका नेता एवं राज्यमन्त्री योगेन्द्र राय यादवले जानकारी दिए ।

‘संसद विघटन अघि संघीय सरकारमा प्रतिपक्षीको भुमिका निर्वाह गरिरहेका दल नेपाली काँग्रेस, माओवादी केन्द्र र माधव पक्ष सहित सरकार बनाउने योजना छ । हामीले काँग्रेस र माओवादी सहितसंगको छलफलमा तिव्रता दिएका छौं, बाँकी कुरा टुङ्गिन बाँकी छ, तर सरकारमा तीनै दल जाने कुरामा सहमति भैसकेको छ’ नेता यादवले भने । माधव पक्षलाई सरकारमा सहभागि गराउन केही कानूनी व्यवधान छ तर पनि विकल्पको बाटोको खोजी हुदैछ, सकभर सबैलाई समेटेर लग्ने प्रयास भईरहेको भुमी व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले जानकारी दिए ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता भरत प्रसाद साहले सरकारमा सहभागि हुने बारे छलफल भैरहेको भएपनि टुङ्गो नलागेको बताए । उनले भने, ‘सरकारमा सहभागि हुने कुरा छ, तर अझै केही विषयवस्तुहरु बाँकी छ, सरकारमा जाने सैद्धान्तिक सहमति भएपनि प्राविधिक कुराहरु बाँकी छ, छलफल निरन्तर चल्दैछ छिट्टै टुङ्गो लाग्छ ।’

नेपाली काँग्रेसका प्रमुख सचेतक उपेन्द्र प्रसाद कुशवाहाले सरकारमा जाने भनिएपनि बाहिर आएजस्तो सहमति नभएको स्पष्ट पारे । ‘ हामीले पहिलो मुख्यमन्त्रीमा दाबी गरिरहेका छौं, दोश्रो अपसनको रुपमा अन्य विकल्प रोज्छौं, तर सरकारमा सहभागि हुन हाम्रो बटमलाईन मुख्यमन्त्री अन्यथा प्रमुख मन्त्रालय हो, सरकार बनाउने कुरामा सहमत छौं तर सरकारमा गएर पनि चाहे अनुरुप नभएर बाहिरबाटै समर्थन गछौं ।’

प्रदेश २ मा ठाकुर पक्षका मन्त्री तथा राज्यमन्त्रीलाई हटाउनु अघि जसपा उपेन्द्र यादव पक्षधर ३० र ठाकुर-महतो निकट ६ गरी कूल ३६ सांसदको हस्ताक्षर सहित आइतबार मुख्यमन्त्री लालबाबु राउतलाई संसदीय दलको नेता चयन गरिएको थियो । सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम र बजेट पास गर्न पार्टीले ह्वीप जारी गर्ने र विधान विपरीत कार्य गर्नेलाई कारबाही गर्ने उपेन्द्र यादव पक्षको रणनीति योजना छ । तर हाल सम्म कुनैपनि बैठक निष्कर्षमा पुग्न सकेको छैन् ।

वार्ताका लागि सरकार पक्षबाट भूमि व्यवस्था तथा कृषिमन्त्री शैलेन्द्र साह, समाजिक विकास मन्त्री नवलकिशोर साह र उद्योगा वन पर्यटन तथा वातावरण मन्त्री रामनरेश राय छन् । यस्तै कांग्रेसको तर्फबाट दलका सचेतक उपेन्द्र कुशवाहा, शिवचन्द्र चौधरी र वीरेन्द्र साह सहमतिको जिम्मेवारी दिईएको छ ।

प्रदेश २ मा १०७ प्रदेशसभा सदस्य मध्ये तीन जनालाई माओवादी केन्द्रले कारवाही गरेको छ । जसमा अब १०४ कूल सदस्य संख्या मध्ये ३६ उपेन्द्र यादवको पक्षमा खुलेर लागेका छन् भने थप चार जना समर्थको लागि तयार अवस्थामा रहेको श्रोतको दाबी छ । नेपाली काँग्रेससंग १९ र माओवादी केन्द्रसंग ८ सांसद रहेका छन् ।

२०७८ जेष्ठ २५, मंगलवार ०६:५७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय