
विशेष प्रतिनिधि
जापान : गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) जापानका २२ सदस्हरुले अध्यक्ष देविलाल भन्डारीले राजीनामा दिएर निश्पक्ष छानबिनको लागि मार्गप्रशस्त गर्न माग गरेका छन् ।
केहि समय अघिदेखि एनआरएनए जापानमा आर्थिक अनियमितता भएका विवरणहरु विभिन्न संचारमाध्यम तथा सामाजिक संजालहरुमा छताछुल्ल हुँदै आएकोमा सोबारे निष्पक्ष छानविनको माग गर्दै गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए आईसीसी)का अध्यक्ष कुमार पन्तसँग निष्पक्ष छानविन गरी सत्य तत्य बाहिर ल्याउन पनि उनीहरुले माग गरेका छन् ।
बुधबार सार्वजनिक गरिएको उक्त पत्रमा एनआरएनए जापानका वरिष्ठ उपाध्यक्षसहित २२ जना सदस्यद्वारा हस्ताक्षर गरी आईसीसीमा पठाइएको बताइएको छ ।
सामाजसेवा गर्ने नाउँमा कमाउ धन्दा भएको आशंका ब्यक्त गर्दै लामो समयदेखि विभिन्न निकायहरुमा पीडितका निवेदनहरु दर्ता भएको भए पनि हालसम्म सुनुवाइ हुन नसकेको जापानमा दुर्घटना भएर मृत्यू भएकाहरुको हिसाब परिवारलाई लामो समयसम्म पनि उपलब्ध नगराएको र उच्च स्तरीय छानविन समितिले गत ६ तारिक सार्वजनिक गरेको प्रतिवेदनमा वर्ष २०१९–२०२१ कार्यसमितिलाई पनि दोषी ठहर गरेकोले आफूहरु पनि शंकाको घेरामा तानिएको भन्दै पुनः एक उच्च स्तरीय छानविन समिति बनाउन नेपाली राजदूतावास, एनआरएनए आईसीसी तथा विभिन्न अभियन्ताहरु समक्ष माग गरिएको पत्रमा उल्लेख छ ।
पत्रमा भनिएको छ, ‘यस कार्यमा संलग्न भई गैर जिम्मेवारीपूर्ण कार्य गरेकाले अध्यक्ष देविलाल भण्डारीले नैतिकताको आधारमा राजीनामा दिएर निष्पक्ष छानविनका लागि मार्ग प्रशस्त गर्न अनुरोध गर्दछौँ ।’
राजदूत प्रतिभा राणा (नेपाली राजदूतावास टोकियो), एनआरएनए एशिया प्यासेफिक संयोजक गोविन्द श्रेष्ठ, एनआरएनए एशिया प्यासेफिक उपसंयोजक पारसमणी पोखरेल र एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारीलाई पत्रको बोधार्थ दिइएको छ।
वरिष्ठ उपाध्यक्ष अनिता गुरुङले नैतिकताको प्रश्न उठेको भन्दै अध्यक्षले राजीनामा दिनुपर्ने बताइए पनि एनआरएन जापानमा आर्थिक अनियमितता भएको भन्दै पहिलो पटक सूचना सार्वजानिक गर्ने वर्तमान प्रवक्ता सिद्धार्थ श्रेष्ठको नाम र हस्ताक्षर भने यो निवेदनमा समावेश रहेको छैन ।
उक्त पत्रमा गत ६ तारिक उच्च स्तरिय छानविन समितिद्वारा एनआरएनए जापानमा विभिन्न चरणमा आर्थिक अनियमितता भएको विवरण बहिर ल्याएपछि राजीनामा गरेको सार्वजनिक गरेका एनआरएनए सदस्यद्वय सुरेश गिरी र राजेश खनालको समेत हस्ताक्षर रहेको छ।