जनकपुरधाम : प्रदेश दुई प्रदेश प्रमुख डा. राजेश अहिराज प्रदेशसभामा आर्थिक वर्ष २०७८–०७९ का लागि निति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । आज बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुखले निति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रदेशसभामा प्रस्तुत गरिएका निति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि तथा रोजगारीमा विशेष जोड दिइएको छ ।

यसका अतिरिक्त निति तथा कार्यक्रममा चुरे संरक्षणलाई विशेष प्राथमिकताका साथ समावेश गरिएको छ । प्रस्तुत निति तथा कार्यक्रममा अधिकांश पुरानै कार्यक्रमहरुको निरन्तरता रहेपनि केही नयाँ कार्यक्रमहरु समेत समावेश गरिएका छन् । संघ सरकारले व्यापार घाटा न्यूनीकरणका लागि चुरे क्षेत्रबाट गिट्टी बालुवा उत्खनन् गर्ने गरी बजेट नै प्रस्तुत गरेको समयमा प्रदेश २ सरकारको निति तथा कार्यक्रममा चुरे संरक्षणमा विशेष जोड दिइएको हो ।

प्रदेश २ को प्रदेशसभामा प्रदेश प्रमुखले प्रस्तुत गरेको निति तथा कार्यक्रममा चुरे विनाशबाट प्रदेशका साथै पूरै देश मरुभूमि तर्फ अग्रसर हुने भएकाले चुरे संरक्षणका लागि कानूुनी तथा प्रशासनिक निति अवलम्बन गर्ने उल्लेख गरेर संघ सरकारलाई काउण्टर दिएको छ । चुरेको फेदमा हरियो वन विकास, चुरे क्षेत्रमा जलाशय निर्माण लगायतका निति अपनाइने बताइएको छ ।

यसका साथै नदिको बालुवा, ढुंगा आदि ढुवानीमा नियन्त्रण गर्ने निति तथा कार्यक्रममा उल्लेख छ । निति तथा कार्यक्रममा सबैभन्दा बढी जोड स्वास्थ्य क्षेत्रमा दिइएको छ । स्वास्थ्य क्षेत्र अन्तर्गत कोरोना परिक्षणको दायरा फराकिलो बनाइने, पूर्ण खोप प्रदेश अभियान चलाइने, दलित तथा सिमान्तकृत समूदायलाई निःशुल्क स्वास्थ्य सुविधा उपलब्ध गराइने निति लिइएको छ ।

त्यस्तै जनकपुरधामको प्रादेशिक अस्पताललाई ५ सय शैय्याको अस्पतालको रुपमा विकास गरिने, ८ वटै जिल्लामा कम्तीमा एउटा स्वास्थ्य तथा आरोग्य केन्द्रको स्थापना गरिने छ । यसका साथै प्रदेशको स्वास्थ्य क्षेत्रलाई मजबुुत बनाउन प्रदेशको आफ्नै स्वास्थ्य निति ल्याइने, स्वास्थ्य क्षेत्रमा सुशासन र पारदर्षिता ल्याउन प्रभावकारी कदमहरु चालिने निति तथा कार्यक्रममा उल्लेख छ ।

गणतन्त्रवादी नेताद्वय दुर्गानन्द झा र रामराजा सिंहका साथै गजेन्द्रनारायण सिंहको शालिक निर्माण गरिने छ । प्रदेश सरकारले कोरोना महामारीका कारण उत्पन्न बेरोजगारी समस्या समाधान गर्नका लागि अध्ययन गरेर प्रदेशमै रोजगारी श्रृजना गर्ने भएको छ । यसका लागि मझौला उद्योगहरुलाई प्रोत्साहन गरिने, वैदेशिक रोजगारबाट फर्केका युवाहरुका लागि नवप्रवद्र्धन कृषि परियोजनालाई निरन्तरता, कृषि बिमा कार्यक्रम, कृषि सडक निर्माण, कृषिमा आधुनिकिकरण लगायतका कार्यक्रमहरु ल्याइने छन् ।

प्रदेश २ को प्रदेशसभामा प्रस्तुत गरिएको निति तथा कार्यक्रममा अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको पाइएको छ । प्रदेश सरकारले पछिल्लो वर्ष नै मधेशी शहीद मार्ग निर्माण गर्ने निति तथा कार्यक्रममा समावेश गरिएको थियो । यसका लागि बजेट समेत छुट्याइयो । तर खासै प्रगति भने यो सडक निर्माणका लागि देखिएन ।

यस वर्ष पनि निति तथा कार्यक्रममा पर्सादेखि सप्तरी जिल्लासम्मको २ सय ५० किलोमिटर सडक खण्डलाई मधेशी शहीद राजमार्गको रुपमा विकास गरिने निति तथा कार्यक्रममा समावेश गरिएको छ ।

हाम्रो प्रदेश, उज्यालो प्रदेश नाराका साथ प्रदेशलाई उज्यालो बनाउन ३ सय मेगावाट सौर्य उर्जा प्लान्टको स्थापना गर्ने निति पछिल्लो वर्षहरु जस्तै यस वर्ष पनि निति तथा कार्यक्रममा निरन्तरता पाएको छ ।

प्रदेश सरकारले आर्थिक रुपमा विपन्न, दलित तथा मुस्लिम छात्राहरुको शैक्षिक स्तर उकास्नका लागि विशेष छात्रवृति कार्यक्रम, प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा रहेको जनकपुर अञ्चल अस्पताललाई प्रदेश नमूना अस्पतालको रुपमा विकसित गर्न ५ सय शैयासम्म पुर्याउने, जिल्ला अस्पतालहरुको स्तरोन्नति गर्ने, एउटा ट्रमा सेन्टरको स्थापना लगायतका कार्यक्रमहरुले निरन्तरता पाएका छन् । यद्यपि यस वर्षको निति तथा कार्यक्रममा प्रदेशमा २ वटा ट्रमा सेन्टर स्थापना गर्ने निति लिइएको छ ।

नीति तथा कार्यक्रमको पूर्णपाठ

२०७८ जेष्ठ २७, बिहीबार १८:५४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय