महोत्तरी :  कोभिड-१९ महाव्याधिले काम गुमेर भोकै बस्नु पर्ने अवस्थामा पुगेका महोत्तरीका ४३ परिवार मुसहरले राहत पाएका छन् ।

गरिबी र अभावले कष्टकर जीवन बिताउँदै आएका महोत्तरीको गौशाला नगरपालिका -४ मल्हनियाँपोखरीका ४३ परिवारलाई वैदेशिक रोजगारीमा अरब मुलुकमा रहेका ८० जना युवाले ‘चुल्हो ननिभ्न’ राहत पठाएका हुन् । वैदेशिक रोजगारमा रहेका जिल्लाका ८० जनाले पठाएका दुई लाख नगदबाट महोत्तरी टाइगर समाज सेवा टिम गौशाला, महोत्तरीले मङ्गलबार ४३ परिवार मुसहरलाई खाद्यान्न र सरसफाईका लागि अत्यावश्यक सामग्री वितरण गरेको हो ।

चामल-१५ किलो, दाल-२ किलो, आलु-५ किलो, खानेतेल-१ लिटर, नुन-१ किलो, तयारी खानेकुरा चिउरा-२ किलो र सरसफाईका लागि डिटोल साबुन-५ सहितको राहत सामग्रीको झोला ४३ परिवारले पाएका छन् ।

अहिले के खाउँ , भरे के खाउँला भन्ने चिन्ताले पिरोली रहेका बेला यो सहयोगले पराले झुप्रामा आगो बाल्न पाइएको बस्तीकी इन्द्रा सादा मुसहरले बताउनुभयो । असार पहिलो साताको झरीले पराले झुपा सबै चुहेर बिजोग खेपी रहेका बेला विदेशमै रहेर पनि आपूmहरुलाई सम्झनेलाई बस्तीका मुसहरले आशिष दिएका छन् ।

“कोरोनाले हामी काममा निस्कन पाएका थिएनौ, वालबच्चा भोकले रुदै थिए” बस्तीका रामस्वरुप सादाले भन्नुभयो, हाम्रै घरआँगनमा वडा कार्यालय छ, कोही फर्केर सोध्न आएनन्, विदेशमा बस्नेले सम्झे , तिनको जय होस् ।” अहिले अप्ठ्यारोमा त्राण बचे अब त बिस्तारै काममा निस्कन सहज हुने मुसहरले विश्वास पालेका छन् ।

कृषि मजदुरी गुजाराको सहारा हुने मुसहर धन सञ्चित गर्ने वा भोलि के खाने चिन्ता लिदैनन् भन्ने तराईमा आम बुझाइ हुने गर्छ । अहिले र बढीमा आज साँझसम्मको खाना जोहो गरेर मुसहरको जिन्दगी चलेको मल्हनियाँपोखरीकै श्रीराम सुवेदी बताउनुहुन्छ । ‘कमाइ ल्यायो, भुटी खायो’ मुसहरका लागि तराईमा चलनचल्तीको आहान हो ।

संयुक्त अरब इमिरेट्स , कत्तार , कुवेतसहितका खाडी मुलुकमा कार्यरत जिल्लाकै ८० जना कामदारले आफ्नो छाक काटेर विपद्मा परेकालाई सहयोग गर्न रकम पठाइ दिएका महोत्तरी टाइगर समाज सेवा टिम गौशाला, महोत्तरीका संयोजक धामी दिपेन्द्र महतोले बताउनुभयो । प्राप्त रकमबाट जिल्लाका १०८ परिवारलाई प्रतिपरिवार दुई हजार बराबरको सामग्री नघट्ने गरी वितरण गर्न लागिएको महतोको भनाइ छ । अब ६५ परिवार गौशालाकै छिमेकका अन्य स्थानीयतहका बस्तीबाट छानिने हरुलाई राहत दिइने महतोले बताउनुभयो ।

वैदेशिक रोजगारीमा रहेका सहयोगीले चुल्हो निभ्नै लागेकालाई पहिचान गरेर ‘चुल्हो ननिभ्ने’ अभियानका रुपमा आपूmहरुको सहयोग परिचालन गराइ दिन अपिल गरेका टाइगर समाजले जनाएको छ । खासमा भोकभोकै बस्नु पर्ने नियतिका गरिबबारे समाजमा आम चासो बढाउनु सहयोगीहरुको ध्येय रहेको संयोजक महतोले स्पष्ट पार्नुभयो ।

२०७८ असार ९, बुधबार १२:३५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय