जनकपुरधाम :  आइतबार रातिदेखिको निरन्तरको वर्षाले जनकपुरधाम जलमग्न भएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाको प्रायः सबै वडाका घरहरुमा पानी प्रवेश गरेको छ । सडकमा करिव १ फिटसम्म पानी जमेपछि सर्वसाधारणलाई आवातजावतमा समेत समस्या उत्पन्न भएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाका मुख्यचोकहरु रामानन्दचोक, भानूचोक, पिडारीचोक, रामचोकलगायतका स्थानहरुमा व्यापारीको पसलको सटरमा समेत पानी पसको छ भने उपमेयर रिताकुमारी मिश्रको घरमा समेत पानी प्रवेश गरेको छ । यहाँको सरस्वती नगर, मिथिला नगर, धत्ताटोल, पिडारी टोल लगायतका प्रायः सबै टोलमा पानी जमेको छ ।

लगातारको वर्षाका कारण यहाँका सरकारी कार्यालयहरु राष्ट्रिय समाचार समिति, आन्तरिक राजश्व कार्यालय, हुलाक कार्यालय, परिवार नियोजन संघ, महिला विकास केन्द्र, वन निर्देशनालय, ट्राफिक प्रहरी कार्यालय, प्रादेशिक अस्पताल लगायतका परिसरहरु जलमग्न भएका छन् । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रदेशसभा भवन, रेडक्रस सोसाइटी, बाह्रविघा मैदानलगायतका स्थानहरु समेत जलमग्न भएका छन् ।

वर्षाको शुरुवातमै यस्तो अवस्था सिर्जना भएपछि स्थानीय चिन्तित भएका छन् । स्थानीय सरकारको अग्रिम तयारी नदेखिएकोले भारी वर्षा सुरु हुँदा जनजिवन प्रभावित हुने देखिएको छ । जनकपुरधाम उपमहानगरपालिकाले निर्माण गरेको ढलमा निकासका समस्याका कारण यस्तो अवस्था उत्पन्न भएको हो ।

सडकमा कालोपत्रे र पेटी निर्माणका क्रममा ढलमा इँट्टा, गिट्टी र बालुवा पसेका कारण पानीको निकास अवरूद्ध भएको देखिएको छ ।

२०७८ असार १४, सोमबार १६:५८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय