काठमाडौं : संयुक्त विद्यार्थी संगठनको आन्दोलनपछि नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गरेको छ ।
बुधबार निगमले मूल्यवृद्धिको विषयमा आन्दोलन गर्दै आएका संयुक्त विद्यार्थी संगठनसँगको वार्तापछि मूल्य समायोजन गरेको हो ।
नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौं इन्धनको मूल्यवृद्धि विरुद्ध केही दिनयता आन्दोलन चर्काएका थिए । बुधबार आन्दोलनका क्रममा विद्यार्थी संगठनले पेट्रोल पम्प नै बन्द गराएका थिए ।
निगमले बुधबार राति १२ बजेदेखि कार्यान्वयन हुनेगरी पेट्रेल, डिजेल र मट्टीतेलको मूल्य एक–एक रुपयाँ घटाएको हो ।
निगम प्रवक्ता विनितमणि उपाध्यायका अनुसार इन्धनको मूल्य समायोजन भएसँगै अब पेट्रोल प्रतिलिटर १२८ र डिजेल र मट्टीतेलको मूल्य १११ पुगेको छ । यसअघि पेट्रोलको मूल्य १२९ थियो भने डिजेल र मट्टीतेलको मूल्य ११२ रुपैयाँ थियो ।
निगम प्रवक्ता उपाध्यायले निगमले मूल्य समायोजन गरेसँगै संयुक्त विद्यार्थी संगठनले विरोधका कार्यक्रम फिर्ता लिने विश्वास लिएको बताएका छन् । ‘आन्दोलनरत पाँच विद्यार्थी संगठनले निगमको यो निर्णय पश्चात् सम्पूर्ण विरोधका कार्यक्रम फिर्ता हुनेछ भन्ने विश्वास लिएको छ’, उपाध्यायले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढिरहेको भन्दै निगमले मूल्य समायोजन गर्दै लानुपर्ने बाध्यतालाई सबैले बुझ्नु पर्ने प्रवक्ता उपाध्यायले बताए । उनले निगमलाई स्वचालित मूल्य प्रणालीमा लान सबैले सहयोग गर्ने विश्वाससमेत लिएका छन् ।
‘अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढी रहेको र सोको कारणले निगमको लागत बढी रहेको परिपेक्षमा निगमको आर्थिक स्थिति उकास्न पेट्रोलियम पदार्थको मूल्यलाई समायोजन गर्दै लानुपर्ने बाध्यतालाई सबै पक्षले बुझ्नु हुनेछ’, प्रवक्ता उपाध्यायले भने, ‘निगमलाई स्वचालित मूल्य प्रणालीमा लैजान सहयोग गर्नुहुनेछ भन्ने निगमले विश्वास लिएको छ ।’