-एमाले नेता खड्का-
महोत्तरीमा एमाले पङ्तिभित्र ५२ वर्षीय गुञ्जबहादुर खड्का आशलाग्दा नेता हुन् । पञ्चायतकालका अप्ठ्यारा दिनमा विद्यार्थी छँदै वामपन्थी राजनीतिमा होमिएका खड्का २०५२ सालमा तत्कालीन जनमोर्चा छाडेर एमालेमा समाहित भएका हुन् । एमालेको बर्दिबासका अध्यक्ष रही सकेका प्राज्ञिक व्यक्तित्व भएका खड्का अहिले बर्दिबास जनता बहुमुखि क्याम्पस बर्दिबासको व्यवस्थापन समितिका अध्यक्ष छन् । एमालेमा आवद्ध भएदेखि नै केपी शर्मा ओली निकट भनिने परिचय बनाएका खड्का ओली निकट मानिने मदन भण्डारी फाउण्डेशनका प्रदेश-२ का सदस्य पनि हुन् । हाल बर्दिबास-२ वुद्धचोकका बासिन्दा खड्कासँग अहिलेको एमाले किचोलोभित्र पसेर हाम्रा प्रतिनिधि सुरेन्द्र सिंहले कुराकानी गरेका छन् । दलभित्रको किचोलोमा मोफसलका कार्यकर्ता के भन्छन् ? के चाहान्छन् ? खड्कासँगको कुराकानीले केही झल्को दिने हाम्रो अपेक्षा छ । — सम्पादक
⃝ तपाईँ आवद्ध दल एमाले त किचलोमा फसेको छ , के सोच्दै हुनुहुन्छ ?
—राजनीतिक दलहरु विचार मन्थन गर्ने र मुलुकको आवश्यकताअनुसार ठोस नीति अख्तियार गरेर तदनुरुप पाइला चाल्नु पर्ने जिम्मेवारीकै हुन् । यो पृष्ठभूमिमा छलफलका दौरान फरक फरक कोणबाट आउने प्रस्ताव वा विषयहरु जिवन्त दलका लागि सामान्य कुरा नै हुन् । तर अहिले तपाईँले कोट्याउनु भएको एमालेभित्रको प्रसङ्ग चैं निश्चित नै अस्वभाविक छ । यद्यपि यसलाई पनि हल गर्ने सुत्र चैं छन् । संस्थागत रुपले नै यसको निकास दिनपर्छ । अब एमालेमा यो विषय गिजोली रहेर हुन्न । नेतृत्वदायी कमिटीले उपयुक्त निकास दिएर अघि बढ्नु पर्छ ।
⃝ उपयुक्त निकास भन्नुभयो, के हो यो उपयुक्त निकास ?
—पार्टीभित्रका समस्या सम्वोधन गर्न गठित कार्यदलको निष्कर्ष केन्द्रीय कमिटीले अनुमोदन गरी सकेको छ । त्यो भित्र आउन पार्टीका अध्यक्षले अपिल गरेको गरै हुनुहुन्छ । अनि दिनहुँ नयाँ नयाँ बखेडा झिक्दै अत्तो थाप्नुको अर्थ के हुन्छ ? भन्नोस् न, आफ्नै दलका प्रधानमन्त्रीविरुद्ध प्रतिपक्षी दलसँग खुला साँठगाँठ गरेर सरकार ढाल्ने , पार्टी नेतृत्वविरुद्ध गुटवन्दी गरेर अनावश्यक बखेडा र दवाव बढाउने , महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई राजिनामा देउ भन्ने, महाधिवेशनमा जान नचाहने र महाधिवेशनमा पराजित भएपछि एक कार्यकाल पर्खन नसकी मेरा सबै कुरा गए भनेर रोईकराई गर्नेको चित्त के गरी बुझाउने ? यो घुर्कीले पार्टीका आधारभूत तहका सङ्गठन सिथिल भइसकेका छन् । त्यसैले अब पार्टीलाई चलायमान गराउन माथिको ल्याङ्ल्याङ् टुङ्ग्याउनै पर्छ । विगतका कमीकमजोरी सच्याउने सङ्कल्प गर्ने पार्टी काममा फर्कन्छन् , अन्य विपक्षी दलसँग साँठगाँठ गर्ने उतै रमाउन् ।
⃝ भनेपछि माधव नेपाल र उहाँको समूहका नेताहरु बाहिरिउन् भन्नु भएको हो ?
—संयुक्त कार्यदलको निष्कर्षमा बखेडा गर्नेहरु बाहिरिने नै हो । पार्टीको संस्थापन पक्षले त कार्यदलको १० बुँदे निष्कर्षलाई केन्द्रीय कमिटीबाट अनुमोदन गरेर अपनत्व लिई सक्यो । पार्टीलाई एकतावद्ध बनाएर अघि बढौं भन्ने मान्यताका साथीका लागि उपचार भयो । बखेडाबाजेलाई हाताहाती चाहिने..! केही त विधि मान्नु पर्यो नि..! तपाईँ पत्रकारहरुलाई हेक्का होला, नवौं महाधिवेशनबाट निर्वाचित पार्टी अध्यक्ष केपी ओलीले नेतृत्व हस्तान्तरणको कुरामा दशौं महाधिवेशनमा आफु उमेद्वार नै नहुने र अर्को कार्यकालका लागि प्रधानमन्त्रीको दावी पनि नगर्ने कुरा त कैयौं पटक सार्वजनिक गर्नु भएको हो नि ! महाधिवेशन आयोजना गरौं, म नेतृत्व छोड्छु , केपीले भन्नु भएको सम्झना छ नि ! तर यो विधि बखेडादललाई मान्य भएन । के नवौं महाधिवेशनमा अध्यक्ष जित्नु ओलीको अपराध हो ? त्यसअघि आठौं महाधिवेशनमा अध्यक्षमै हारेका ओलीले त्यो कार्यकाल भरी पदको खोचे थापे ? क. जेएन खनालले पूणर् कार्यकाल निष्कण्टक चलाउनु भएको होइन ? त्यसअघि १५ वर्ष माधव नेपालको नेतृत्वमै केपी रहेका होइनन् ? केपीले पदको बखेडा गरे ? नवौं महाधिवेशन पर्खेनन् ? पार्टीको नेतृत्वका लागि महाधिवेशन र सरकारको नेतृत्वका लागि निर्वाचन पर्खनोस् भन्दा खोचे थापेको देखिन्छ ? पार्टी अध्यक्षलाई त सरकारको नेतृत्वबाट हटाइ सके नि ! संसदमा फ्लोरक्रस…! पार्टी बैठकमा नआउने, अनि यो बस्ने मन त होइन नि ! मैले यही ल्याङ्ल्याङ् सिद्ध्याउँ भनेको हो । बस्ने बस्छन् , जाने जान्छन् ।
⃝ तपाईँले सबै दोष असन्तुष्टपक्षतिरै देखाउनुभयो । के अध्यक्षका हैसियतमा र यसअघि सरकारको नेतृत्व गर्दा केपीले फराकिलो मन बनाएर समस्याको सम्वोधन गर्न सक्नु हुन्थेन ? त्यहाँ केपी चुक्नु भएजस्तो लाग्दैन ?
— वास्तवमा समस्या नै भए त तपाईँको कुरा ठिकै देखिन्थ्यो । तर नेकपा रहँदा प्रचण्ड, वामदेवलाई उल्क्याएर माधवजीले गुटवन्दीलाई बढाउनुभयो । उहाँको जोर चल्दा केपीको साधारण सदस्यता नै उडाएको घोषणा गरेर गुट अध्यक्षको पगरी गुथ्नुभयो । मैले माथि नै भनें नि , अब एमालेलाई एकतावद्ध बनाएर अघि बढ्न विधि नै टेक्न पर्छ । माधवजीतिर देखिएका साथीपनि पार्टी नेतृत्वको बिभिन्न जिम्मेवारीमा रहनु भएका हुनुहुन्छ, भर्खरै केन्द्रीय कमिटीले अनुमोदन गरेको कार्यदलका १० बुँदे निष्कर्षलाई आत्मसाथ गरेर अघि बढे त भईहाल्यो । महाधिवेशन आयोजन गरेर इच्छित जिम्मेवारीका लागि स्वस्थ्य प्रतिष्पर्धा गर्न सकिन्छ । तर बीचमै खोचे थापेर निंहुँ खोज्नुको के औषधी हुन्छ ? सर्वगुण सम्पन्न कोही हुँदैनन् । चन्द्रमाले दिने शितलता र उज्यालो हो , हामी त्यही बुझ्छौं । तर बखेडाबाजहरु चन्द्रमामा देखिने धव्वाको कुरा उराल्छन् । कुरो यही हो ।
⃝ सर्वोच्च अदालतले प्रधानमन्त्रीका हैसियतमा केपीले चालेका कदमलाई असम्वैधानिक भनेर लगाम लगाएको देख्नुहुन्न ?
—सर्वोच्चले त वर्तमान सम्विधानको मूल मर्म प्रस्तावनामै हान्यो नि ! प्रतिष्पर्धात्मक बहुदलीय लोकतान्त्रिक व्यवस्थाको मर्ममै प्रहार गरेर निणर्य दियो । सर्वोच्चको निणर्यले शक्ति पृथकिकरणको सिद्धान्त र बहुदलीय मर्मप्रति प्रहार गर्दै परमादेशबाट प्रधानमन्त्री नियुक्त गर्ने, संसदमा दलीय ह्वीप नलाग्नेजस्ता निणर्य गरिसकेको छ । अब सर्वोच्चले देउवा, प्रचण्डसहितका गठवन्धनकारीले नचाहुञ्जेल चुनाव हुँदैन भन्न बेर छैन । सर्वोच्चको निणर्यले अदालतप्रतिको विश्वास र आस्था घटेको छ । सर्वोच्चको यो कदमबारे आम जनतामाझ कुरो प्रष्ट्याउन जरुरी छ ।
⃝ त्यसोभए सर्वोच्चविरुद्ध जनतामा जाने ? सम्वैधानिक सर्वोच्चता तपाईहरु मान्नु परेन हैन…?
—निणर्य कार्यान्वयनमा त गएकै छ नि । सम्वैधानिक सर्वोच्चता नमानेको छ र ? सर्वोच्चले गरेका फैसला र तिनले दिने परिणामबारे त जनताबीच छलफल हुनै पर्छ ।
⃝ अन्त्यमा हाम्रो यो कुराकानीमा उठ्नै पर्ने थप कुनै कुरा देख्नु भएको छ ?
—जनता अजश्र शक्तिका स्रोत हुन् । अहिले च्याँखे थापेर शिकार हत्याएँ भन्ने ठान्नेहरुले पनि जनअदालतमा उभिने दिन आउला । अनि श्रीमान-५ को नियोजित सनक त दिर्घकालसम्म नेपालीले पर्गेली रहनेछन् । कुराकानीमा मेरा धारणा राख्ने ठाउँ दिनुभयो । नेपालवाणि परिवारलाई मुरीमुरी धन्यवाद ।