
जनकपुरधाम : राजर्षि जनक विश्वविद्यालयका प्राध्यापकहरु कामकाज ठप्प गरी आन्दोलनमा उत्रेका छन् । उनीहरुले स्थापना कालदेखि आफुहरु पेपर (कोर्ष) कन्ट्रायाक्टको आधारमा अध्ययन अध्यापन गराउँदै आएपनि करार सेवामा नलगिएको प्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रेका हुन् ।
विश्वविद्यालयका पेपर (कोर्ष) कन्ट्रायक्ट शिक्षक संघले स्थापना कालदेखि निरन्तर अध्ययन अध्यापन देखि सर्वाङ्गिण बिकास सहयोग पुर्याउँदै आएकोले करार गर्नुपर्ने माग राख्दै धर्ना बसेका छन् । विगत चार महिनादेखि आन्तरिक प्रकृयाद्वारा करार गरिनुपर्ने मागलाई क्याम्पस प्रशासनले वेवास्ता गरेपछि कालोपट्टी बाँधेर कामकाज गर्दै आएका प्राध्यापकहरु धर्ना दिईरहेका हुन् ।
पहिलो चरणको कार्यक्रम अन्तर्गत प्राध्यापकहरुले कालोपट्टी बाँधेर काम गरेपनि मागलाई वेवास्ता गर्दा थप आन्दोलनको कार्यक्रम सार्वजनिक गुर्नपरेको अध्यक्ष दिलिप कुमार यादवले बताए । उनले भने, ‘हामी कालोपट्टी बाँधेर निरन्तर कामकाज गर्र्यौ तर हाम्रो मागलाई वेवास्ता गरियो, कुनै सुनुवाई गरिएन, त्यसैले थप आन्दोलनको कार्यक्रम अन्तर्गत हामीले प्रशासनमा धर्ना दिएका हौं ।’
पेपर (कोर्ष) कन्ट्रायक्ट शिक्षक संघका सचिव रविकुमार राजले पहिलो र दोश्रो चरणको आन्दोलन पश्चात तेश्रो चरणको आन्दोलन घोषणा गर्न लागेको जानकारी दिए । उनले भने, ‘हामीलाइ वेवास्ता गर्दै उपकुलपति र रजिष्टारले आफ्नो गोजीबाट मानिस ल्याएर करारमा राखियो तर हामीलाई हाम्रो वर्षौको लगानीको ख्यालै नगरी वेवास्ता गरेपछि बाध्य भएर आन्दोलनमा आयौं ।’
संघका सदस्य अशोक साहले पहिलो र दोश्रो चरणको आन्दोलनबाट समेत आफुहरुको माग सुनुवाई नभए आमरण अनसनमा बस्ने चेतावनी दिए । उनले भने, ‘आन्दोलनबाट विद्यार्थी, शिक्षक र विश्वविद्यालय माथि हुने सम्पुणर् क्षतिको जिम्मेवारी डिन र रजिष्टिारले लिनुपर्छ ।’