
जनकपुरधाम : प्रदेश २ मा दुई जना मन्त्रीको जिम्मेवारी परिवर्तन गरिएको छ ।
सरकार गठन भएदेखि नै तत्कालिन समाजवादी पार्टी नेपालबाट मन्त्री बनेका विजय यादव र शैलेन्द्र साहको कार्यभार विभाजन गरिएको हो ।
मुख्यमन्त्री लालबाबु राउतले अर्थमन्त्री विजय यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएका छन् भने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहलाई अर्थमन्त्री बनाएका हुन् ।
अर्थ मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री साहले आफूलाई मुख्यमन्त्री कार्यालयबाट जिम्मेवारी हेरफेर गरिएको सम्बन्धमा जानकारी प्राप्त भएको बताएका छन् ।
विगत केहि महिनादेखि मुख्यमन्त्री लालबाबु राउत र अर्थमन्त्री विजय यादव बिच आन्तरिक मनमूटावका रहेकोले उनको जिम्मेवारी हेरफेर गरिएको हुनसक्ने आंकलन गरिएको छ ।