
वीरगञ्ज :बाराको सिम्रौनगढमा सर्पको टोकाइबाट सोमबार एक नाबालकको मृत्यु भएको छ। सर्पको टोकाइबाट सिम्रौनगढ नगरपालिका–२ महुवाई बस्ने समेद प्रसाद गुप्ताका छोराको मृत्यु भएको हो।
राति सवा १२ बजे सर्पले डसेपछि नाबालकको उपचारको लागि सिम्रौनगढस्थित सिम्रौनगढ नगर अस्पतालमा लगिएको भएपनि उपचारको क्रममा उनको मृत्यु भएको हो।
नाबालकको मृत्यु भएपछि उनका आफन्तले शव लिएर नगरपालिकाविरुद्ध प्रदर्शन गरेका छन्। उनीहरुले नगरपालिकाका मेयर विजय शंकर यादवविरुद्ध चर्को नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन्।
उनीहरुले डाक्टरको लापरबाहीले नाबालकको मृत्यु भएको आरोप लगाएका छन्। सिम्रौनगढ अस्पतालमा बच्चालाई उपचारको लागि ल्याउँदा समयमै उपचार नगरी नाम ठेगााना सोध्ने, प्रहरीलाई खबर गर्ने लगायतका कुरामा अल्झाएर राखेका कारण समयमा उपचार नपाइ आफ्नो छोराको मृत्यु भएको मृतक नाबालकका बुवा सुमेद गुप्ताले बताए।
पछि अस्पतालका डाक्टरहरुले सर्पको डसाइको उपचार यहाँ नहुने तथा एम्बुलेन्स पनि नभएकोले कलैया अस्पताल लैजान भनेपछि कलैया अस्पताल लैजाँदा नाबालक छोराको मृत्यु भएको गुप्ताको भनाइ छ।
मेयर यादवले भने नाबालकको अन्तिम संस्कार गर्न लागिरहेका बेलामा राजनीतिक प्रतिशोध साँध्नको लागि केही व्यक्तिहरुले नगरपालिका र आफूविरुद्ध प्रदर्शन गराएको यादवको दाबी छ।