जनकपुरधाम : २५-३० वर्ष अघि सम्म टोलपिच्छे मन्दिर र कुटि भेटिन्थे जनकपुरमा । यतिबेला ती मन्दिर र कुटिहरु छैनन् । मन्दिर र कुटि त हराए-हराए भगवानको मुर्ति पनि हरायो । अहिले बाँकी छन केही मन्दिरको अवशेष, भग्नावशेष शवतुल्य शवशेष मात्र । महन्थहरुको मिलोमतोमा जनकपुरको धार्मिक आस्थाको मठमन्दिरहरु समाप्त हुँदै कतिपय मठमन्दिरहरु सरकारी अतिक्रमणको सिकार बन्दै अस्तित्व नै समाप्त भएको छ ।

जानकी मन्दिरका कारण प्रसिद्धि कमाएका जनकपुरमा ठुला संख्यामा साधुसन्तहरु आउथे । छिमेकी भारत र स्वदेशकै साधु जनकपुर आएर भजन किर्तन गरि रमाउथे । ती साधुहरुको भक्तिबाट आकर्षित भई जग्गा दिने परम्परा थियो । सबै कुटिमा राम जानकीकै पुजा हुन्थ्यो । ती कुटिको स्थापना गरेर साधु सन्तका नामबाट मन्दिरको नाम राखिन्थ्यो । सबै मन्दिर व्यवस्थित थिए । तर भु-माफियाहरुको चलखेल र मन्दिर संरक्षककै मिलोमलतोमा कुटि मासिदै गए । कुटिले दानमा पाएको जग्गा व्यक्तिमा नामसारि हुन थाल्यो र विस्तारै भगवानका मुर्ति समेत बेचिए ।

कुनैबेला जनकपुरधाम प्राचीन मिथिलाको राजधानीको साथै मठ मन्दिरको शहरको रुपमा परिचित थियो । तर पछिल्लो दुई दशकमा जनकपुरमा ४० भन्दा बढि मन्दिर मुर्तिहरु हराएका छन् । कुनै बेला मन्दिर र कुटि रहेको ठाउँमा अहिले ठुला-ठुला भवन छन् ।
गुठ्ठी संस्थान शाखा कार्यालय जनकपुरको तथ्याङक अनुसार साविकमा धनुषाको बिभिन्न मठ मन्दिरको साविकको जग्गा ५ हजार ८ सय ३५ विघा १० कठ्ठा १९ धुर जग्गा थियो । सो जग्गालाई २०२१ सालमा भएको पहिलो नापीमा तीन प्रकारले विभाजित गरियो । जसमा अधिनस्त, तैनथी र नम्बरी गरी ६ हजार १ सय २९ विघा २ कठ्ठा १० धुर २ कनमा छ ।

गुठी तथ्याङक अनुसार साविकमा रहेका जग्गा नापीमा झण्डै २ सय ९४ बिघा भन्दा बढी बढेको छ । २०४४ देखि २०५१ साल भन्दा पहिले मठमन्दिरबाट मनखपमा प्राप्त गरेको जग्गामा घर बनाई बसेको र शहरी नापीको नक्सामा पनि पक्की वा फुसको घर देखिएका लागि गुठी संस्था ऐन २०३३ को संशोधन सहितको दफा २५ (३) मा २०४६ साल चैत २६ गते भन्दा पूर्व गुठीको जग्गामा घर बनाई बसेका व्यक्तिलाई सो जग्गा रेकर्डमा परिणत गर्ने प्रावधान रहेको अनुसार लालपुर्जा दिइयो ।

ऐन बमोजिम गुठी जग्गाहरु मध्ये ३ हजार ६ सय ७३ बिग्घा १० कठ्ठा ४ धुर २ कनमा व्यक्तिको नाममा रैतान नम्बरी भयो । जिल्लामा रहेका मठ मन्दिरहरुको २ हजार ४ सय ५६ बिघा भन्दा बढी जग्गाको संरक्षण गुठी संस्थान र स्थानीय प्रशासनले गर्नुपर्ने दायित्व छ । तर, संस्थानका कर्मचारी, मठ मन्दिरका पुजारी तथा महन्थ, प्रशासन, र राजनीतिक दलका नेता तथा भू-माफियाको संलग्नतामा जिल्ला भरिका अर्बौं मूल्यका सयौं बिघा जग्गा बेचेर खाईसके ।

गुठी संस्थान शाखा कार्यालय जनकपुरका प्रमुख बैकुण्ठ प्रसाद रेग्मीले हालसम्म ३० बिघा ७ कठ्ठा १८ धुर जग्गा मात्रै अतिक्रमण भएको दाबी गरे । तर यो तथ्याङक भन्दा सयौं गुणा बढी जग्गा अतिक्रमित भैसकेको छ । मन्दिर पिच्छे बस्ती, लाग्ने गरेको हाट बजार, युवा क्लवको घर, बस स्टेन्ड, राजनीतिक दलको घर नेकपा एमाले देखि नेपाली काँग्रेस सम्म विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका कार्यालयले मनमौजी गुठीको जग्गा हडपेर बसेका छन् ।

२०२२ सालमा गुठि संस्थान ऐन आयो । नेपाली नागरिकता नभएका साधुसन्तकले मठमन्दिरको जग्गा चलाउन नपाउने विषयमा विभिन्न नियम बने । कतिपय साधुसन्तले नेपाली नागरिकता भएका चेलालाई मठमन्दिरको स्वामित्व सुम्पिए । तर संरक्षणको जिम्मेवारी लिएका पुजारी र महन्थले मन्दिरका जग्गा भु-माफियासंग मिलेर बिक्री गरेपछि ती मन्दिर बिस्तारै लोप भए ।

कतिपय मन्दिर र जग्गा सरकारी स्वामित्वमा राखेर प्रयोगमा ल्याइएको छ । तर अधिकांस मन्दिर नीण्ज रुपमै आतिक्रमण परेका छन् । तर जनकपुरका महन्थमा उचित र धर्मप्रतिको आस्था नभएका व्यक्तिहरु नियुक्त भएका कारणले मठमन्दिर विनास हुनुको साथै मन्दिर लोप भएको महन्थ जगदिश दास वैष्णव ‘त्यागी’ को भनाई छ ।

उनले जनकपुरको धार्मिक नगरि भएपनि महन्थहरु धार्मिक आस्था नभएको र उनीहरु धर्मको संरक्षण भन्दा नै विनाश तर्फ बढी लागेको आरोप लगाए । अर्को तर्फ गुठि संस्थान जस्ता निकायहरुले समेत मठ मन्दिरहरुको संरक्षण गर्नुको साटो जग्गा कसरी बेच्ने क्रियाकलापमा लागेको देखिएकोले समस्या आएको बताउँछन् । अन्नपूर्णपोष्टबाट

२०७८ आश्विन ४, सोमबार ०७:१६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय