बर्दिबास : नेकपा एमालेका केन्द्रीय सदस्य तथा राष्ट्रियसभामा एमाले संसदीय दलका नेता सुमनराज प्याकुरेलले नेपालको प्रजातान्त्रिक आन्दोलनमा कम्युनिष्ट पार्टीको भूमिका सधैं नेतृत्वदायी रहेको बताउनु भएको छ ।

महोत्तरीको बर्दिबास-८ हाथीलेटमा बुधबार शहीद कृष्णबहादुर रानाको ४२ औं स्मृतिसभालाई प्रमुख अतिथीय सम्वोधन गर्दै नेता प्याकुरेलले आन्दोलनलाई परिणाममुखि बनाउन कम्युनिष्टहरुले सधैं नेतृत्वदायी भूमिका निभाएका दावी गर्नुभएको हो । नेकपा एमाले बर्दिबास-८ समितिले शहीद रानाको स्मृतिमा कार्यक्रम आयोजन गरेको हो ।

“विक्रम सम्वत २०१७ सालदेखि निरङ्कुश पञ्चायतविरुद्धका आन्दोलनमा कम्युनिष्ट पाटीहरुले अग्रमोर्चामा रहेर आन्दोलनको नेतृत्व गरेका छन्” नेता प्याकुरेलले भन्नुभयो, “विक्रम सम्वत २०४६ सालको ऐतिहासिक जनआन्दोलन पनि काँग्रेसलाई संयुक्त मोर्चामा ल्याउने पहलकदमी कम्युनिष्ट पार्टी र खासमा तत्कालीन नेकपा (माले) ले गरेको हो ।” काँग्रेसको मुख्य नेतृत्व कम्युनिष्टहरुसँग संयुक्त मोर्चा बनाउन त्यति इच्छुक नरहेकै बेला गणेशमान सिंहलाई मुख्य कमाण्डर बनाएर अघि बढ्न कम्युनिष्ट पार्टीले खेलेको भूमिकाले त्यतिखेर पञ्चायत ढलेको प्याकुरेलको दावी छ ।

सभामा २०३६ सालको सामन्तविरुद्धको सामाजिक आन्दोलनमा भएको प्रहरी ज्यादतीविरुद्ध प्रतिवाद गर्ने क्रममा हाथीलेटमै सहादत प्राप्त गरेका शहीद कृष्ण राना कम्युनिष्टहरुका मात्र नभई त्यतिखेर मुलुकमा बहुदलीय प्रजातन्त्रका लागि सङ्घर्षमा ओर्लेका सबै प्रजातन्त्रवादीका लागि प्रेरणा र उर्जाको स्रोत बनेका नेता प्याकुरेलले उल्लेख गर्नुभयो । रानालाई पञ्चायती शासकका लठैत प्रहरीले २०३६ साल असोज-६ गते गोली दागेर हत्या गरेका थिए । रानाको त्यो सहादत प्रजातन्त्रका लागि भएको प्याकुरेलले बताउनुभयो ।

२०४६ सालको आन्दोलनको सफलतापछि २०४७ सालमा जारी भएको सम्विधानमा त्यतिखेरको नेकपा (माले) ले २७ बुँदे फरकमत राखेर सम्विधानको आलोचनात्मक समर्थन गरेको सन्दर्भ कोट्याउँदै नेता प्याकुरेलले ती २७ बुँदे फरकमत करिब १६ वर्षपछि २०६२/०६३ सालको ऐतिहासिक जनआन्दोलनको सफलतापछि क्रमशः संसदबाट अनुमोदन हुनुले पनि प्रजातान्त्रिक आन्दोलनमा कम्युनिष्ट पार्टीको वैचारिक नेतृत्व स्थापित भएको पुष्टि हुने प्याकुरेलको दावी छ । नेता प्याकुरेलले बन्दूकको बलमा नभई अघिदेखि नै डोरिएको विचार र सो विचारलाई निणर्ायक बनाउन गरिएको शान्तिपूणर् जनआन्दोलनले जहानियाँ राजशाही ढलेको उल्लेख गर्नुभयो ।

“प्रजातान्त्रिक भन्नोस वा लोकतान्त्रिक आन्दोलन भन्नोस, ती आन्दोलनमा कम्युनिष्टबाहेकका अन्य दलको भूमिका र योगदानलाई हामीले अवमूल्यन गरेका होइनौ” प्याकुरेलले भन्नुभयो, “तर संयुक्त आन्दोलनको अवधारणा र त्यसलाई मूर्त रुप दिने भने कम्युनिष्ट नै हुन् ।” पछिल्ला आन्दोलनमा यस प्रकृतिका आन्दोलनमा यस्तो भूमिका नेकपा (एमाले) ले निभाएको प्याकुरेलको भनाइ छ ।

सभामा नेकपा एमाले केन्द्रीय सदस्य जुली महासेठ, अर्का केन्द्रीय सदस्य तथा एमाले जिल्ला अध्यक्ष टेकबहादुर बलम्पाकी, शहीद कृष्ण रानाका परिवारबाट काका प्रेमबहादुर राना, हाथीलेटका पुराना वामपन्थी नेता वलबहादुर बलम्पाकी र प्रदेशसभा सदस्य शारदा थापा र बर्दिबास-७ का वडाअध्यक्ष फाल्गुण सुसलिङ्गले शहीद कृष्णबहादुर रानाको बीरतापूणर् सहादतको चर्चा गर्नुभयो । बर्दिबास-८ का एमाले अध्यक्ष तेजबहादुर आलेको अध्यक्षतामा बेङ्खाडी बजारमा कार्यक्रम सम्पन्न भएको हो ।

एमालेले स्मृतिसभाको आयोजनसँगै बुधबार नै बेङ्खाडी बजारमा पार्टीको वडा कार्यालयसमेत सञ्चालनमा ल्याएको छ । स्मृतिसभामा कोपिला कलाकार समूह कालापानीका कलाकारले साँस्कृतिक कार्यक्रम प्रस्तुति गरेका थिए ।

bardibas_nagarpalika

 

२०७८ आश्विन ६, बुधबार २३:४१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय