काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले परमादेशमा सरकार गठन गर्न आदेश दिने संवैधानिक इजलासमा रहेका पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने माग गरेका छन् ।

सत्ताबाट बहिर्गमन र पार्टी विभाजनको पीडाका बीच एमालेको पालिकास्तरको अधिवेशन मंगलबार भर्चुअल माध्यमबाट उद्घाटन गर्दै अध्यक्ष ओलीले संविधानको रक्षा गर्न नसक्ने प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा मात्रै नभई सरकार गठनका लागि परमादेश दिने न्यायाधीशहरूले समेत राजीनामा दिनुपर्ने बताए ।

‘परमादेशमा सरकार गठनको आदेश दिने प्रधानन्यायाधीश, न्यायाधीशहरूको हालत हेरिराख्नुभएको छ । प्रधानन्यायाधीश मात्रै किन ? परमादेशबाट सरकार गठन गर्न आदेश दिने संवैधानिक इजलासमा रहेका पाँचै जना न्यायाधीशले समेत राजीनामा दिनुपर्छ,’ ओलीले भने ।

न्यायालय र अहिले सरकारमा रहेकाहरूको बीचमा भएको पूर्वसहमतिअनुसार नै एमालेको सरकारलाई ढाल्ने काम भएको उनले आरोप लगाए ।

राज्यका तीनवटै निकाय असफल भएको टिप्पणी उनले गरेका छन् । अध्यक्ष ओलीले व्यवस्थापिका, सरकार र न्यायालय असफल भएको बताए । परमादेशबाट सरकार गठन गर्न आदेश दिने संवैधानिक इजलासमा रहेका पाँचै जना न्यायाधीशहरूले राजीनामा दिनुपर्ने माग गर्दै उनले भने, ‘अहिले देखिरहनुभएको छ, आफैं श्रीमान्हरू आफ्नो पोल खोलाखेलमा लाग्नुभएको छ ।’

‘राज्यका निकायहरू मर्यादित हुनुपर्छ । शक्ति पृथकीकरणको आधारमा चल्नुपर्छ । सम्मानित अदालतले हेर्ने भनेको संविधानको प्रयोग सही भएको छ कि छैन भने समुचित व्याख्या गर्ने हो । हिजो पाकिस्तानी शैलीमा परमादेशबाट सरकार बनाउने र हटाउने कुरा गरियो । अहिले श्रीमान् न्यायाधीशहरू नै विगतमा कसले के के गर्नुभएको थियो भनेर उधिन्न थाल्नुभएको छ,’ ओलीले भने ‘उधिन्न जाँदा के के रहेछ भन्ने देखिन थालेको छ । पाँचै जनाले परमादेश जारी गरेर देशलाई यो हालतमा पु¥याउनुभएको छ । एक जनाले किन राजीनामा गर्नुहुन्छ ? पाँचै जनाले राजीनामा गरे हुन्न ?’ राजधानी दैनिकमा खबर छ ।

२०७८ कार्तिक १०, बुधबार ०६:४२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय