
जनकपुरधाम : धनुषा जिल्लाको रुपैठामा जुलुस, प्रदर्शन रोक्न जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लगाएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर २० रुपैठामा हिन्दूवादी संघसंस्थाहरुले प्रदर्शन गर्न खोज्दा प्रहरीले स्थिति नियन्त्रण गर्न करिब ३६ राउण्ड अश्रुग्यास प्रहार गरेकोछ । हिन्दूवादी संघसंस्थाहरुले प्रहरी सुरक्षा छल्दै दिउँसो रुपैठा पुगेको थियो । घटनास्थल ‘तेलिया पोखरी’मा जान खोजेपछि प्रहरीले अश्रुग्यास प्रहारगरि रोकेको प्रत्यक्षदर्शीहरुले जनाएका छन् ।तेलिया पोखरीको उत्तरतर्फको डिललाई एउटा समुदायले दावी गरेपछि दुई वर्षदेखि विवाद उत्पन्न हुँदै आएकोछ ।
पोखरी जनकपुरधाम उपमहानगरपालिकाको पूर्ण स्वामित्वमा रहेको छ । पोखरीमा छठ पर्व मनाउन हिन्दूहरुलाई अवरोध गरेपछि विवाद चर्किएको हो ।एउटा समुदायले पोखरीको उत्तरतर्फको डिलमा छठ पर्व मनाउन अवरोध गरेका थिए । स्थानीय बासिन्दाहरुबीच छठ पर्व मनाउन सहमति भएपनि बाहिरका व्यक्तिहरुले सहमति तोड्दै छठ मनाउन अवरोध गरेको स्थानीयहरुको आरोप छ । एउटा समुदायले वडा कार्यालयले पोखरीको उत्तर तर्फको डिल लिखित रुपमा दिएको दाबीगर्दै त्यसमा छठ मनाउन नहुने अडान लिदै आएका छन् । तेली जातीको पोखरी भएपनि समयमा निजी नम्बरी गराउन नसक्दा सरकारी भई जनकपुरधाम उपमहानगरपालिकाको नाउँमा दर्ता कायम भइसकेको जउमनपाको दाबी छ ।उपमहानगरपालिकाले कुनै जाति विशेषलाई त्यसबाट जग्गा उपलब्ध नगराइएको दाबीगर्दै आएको छ ।
घटनास्थलको विभिन्न भिडियोहरु सामाजिक सञ्जालमा सार्वजनिक हुन थालेपछि धार्मिक सहिष्णुता बिग्रने उच्च जोखिम देखिएकोछ । हिन्दू धार्मिक संघसंस्थाहरु सकृय भएपछि शनिवार अर्को पक्ष विरोधमा उत्रेको देखिएन् । घटनास्थलमा प्रदर्शनकारीलाई जान रोकेपछि प्रहरीमाथि सामान्य ढुंगामुढा गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार प्रदर्शनकारीको ढुंगामुढाले आधा दर्जन सुरक्षाकर्मी घाइते भएका छन् ।घाइते मध्ये एकजनाको अवस्था गंभीर रहेको जिप्रका धनुषाले जनाएकोछ । धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले शनिवार जारी गरेको सूचना अनुसार दिउँसो २ बजेदेखि आईतवार राती १० बजे सम्म जनकपुरधाम– जटही राजमार्गको क्षेत्र समेत वरिपरि जुलुस, सभा लगायतका विरोध प्रदर्शन कार्यक्रमहरुमा रोक लगाएका छन् । ‘सामाजिक सदभावलाई बिग्रन नदिन निषेधाज्ञा जारी गरिएको छ’ उनले भने, सामाजिक स्तरबाट समस्याको समाधान खोजिने प्रयास भइरहेको छ ।
स्थिति नियन्त्रणमा रहेको जनाउँदै प्रजिअ बाँस्तोलाले भने, प्रारम्भमा स्थितिलाई बिग्रन नदिन केही राउण्ड अश्रुग्यासको गोला प्रहार गरिएको थियो ।दुवै समुदायका अगुवाहरुलाई सद्भाव कायम बनाइराख्न आग्रह गरिएको उल्लेखगर्दै प्रजिअ बाँस्तोलाले भने, रुपैठामा सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ । तेलिया पोखरीको विषयमा रुपैठामा विगतमापनि समस्या देखिएको थियो ।तर ठोस रुपमा समाधान नहुँदा फेरी विवाद चर्किएको स्थानीय राजनीतिकर्मीहरु बताउँछन् ।
यस सम्बन्धमा वडा अध्यक्ष भोगेन्द्र झाभोगी)लाई सम्पर्क गर्न पटक पटक प्रयास गरेपनि सफल हुन सकेन् ।वडाअध्यक्ष झाले नै एउटा समुदायलाई सो जग्गा लेखेर दिएको आरोप छ ।जनकपुरधामलाई भारतीय सीमासित जोड्ने प्रमुख राजमार्गमा भएको सो घटनाले भने सर्वसाधारणलाई आवतजावत गर्न कठिनाई नभएको बताइन्छ ।भारतीय क्षेत्रबाट आउने अथवा नेपालबाट जाने यात्रुहरुलाई आवागमनमा राजमार्ग खुल्ला नै रहेको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । स्थानीय बासिन्दाहरुले सर्वपक्षीय बैठकबाट तत्काल समाधान खोज्न सुझाएका छन् । ठोस समाधान गर्न नसकिए पुनः विवाद बल्झिने स्थानीयको चिन्ता छ ।