काठमाडौं : तेस्रो देशका नागरिकहरु नेपाल हुँदै रेल चढेर भारत जान नपाउने भएका छन् । भारतीय अधिकारीहरुले सुरक्षाको जोखिम देखेपछि नेपालको रेल विभागले जनकपुर (कुर्था)- जयनगर रेलमा तेस्रो देशका नागरिकलाई चढ्न अनुमति नदिने जनाएको हो ।

विभागका महानिर्देशक दीपककुमार भट्टराईका अनुसार दुई मुलुकबीच रेल संचालन गर्नेबारे भएको स्ट्यान्डर्ड अप्रेटिङ प्रोसेडियूर (एसपीए) सम्झौतामा समेत यस्तो व्यवस्था गरिएको छ । गत महिना दिल्लीमा नेपाल र भारतले एसपीए सम्झौतामा हस्ताक्षर गरेका थिए ।

गत अक्टोबर २२ मा भारतले नेपाललाई ३४. ९ किलोमिटर लामो जनकपुर (कुर्था)- जयनगरको रेलवे पूर्वाधार खण्ड हस्तान्तरण गरेको थियो । भारतले सुरुमै तेस्रो देशका नागरिकलाई रेलसेवा लिन पूर्णतः प्रतिबन्ध लगाउनुपर्ने प्रस्ताव गरेको थियो ।

सुरुमा नेपालले भारतको यस्तो प्रस्ताव अस्वीकार गरेपनि पछि नेपालभित्र तेस्रो देशका नागरिकले रेल चढ्न पाउने भएपनि भारत जानलाई रोक्ने सहमती भएको थियो । भारतको सीमा सुरक्षा चासोकै कारण उक्त चर्चित एसपीए सम्झौतामा हस्ताक्षर हुन ढिलाइ भएको थियो ।

एसपीए सम्झौतामा हस्ताक्षर भएपनि कहिलेदेखि रेलसेवा पुनःसंचालनमा आउँछ र नेपालले कहिलेदेखि रेल कानून लागू गराउँछ भन्ने यकिन छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव केशवकुमार शर्माले मन्त्रालयले रेलवे बारेको अध्यादेशको खाका मन्त्रिपरिषद्मा लैजाने तयारी गरिरहेको बताए ।


२०७८ मंसिर ४, शनिबार १६:१८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय