काठमाडौं : नेपाली कांग्रेसको १४औं महाधिवेशनमा आज उम्मेदवारी दर्ता गरिने भएको छ।

आज उम्मेदवार मनोनयन दर्ता गरिने कार्यसूची छ। बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ।

त्यसपछि, उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ साँझ ५ देखि ७ बजेसम्मको समय तोकिएको छ। दाबी विरोधउपर निर्णय आजै साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ।

उम्मेदवारको पहिलो नामावली प्रकाशन मङ्सिर २५ गते राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय मङ्सिर २६ गते बिहान ११ बजेसम्म रहेको छ। त्यस्तै, उम्मेदवारको अन्तिम नामावली प्रकाशन मंसिर २६ गते दिउँसो १२ः१५ बजे र मतदान मंसिर २७ गते बिहान ८ बजेदेखि हुनेछ।

शुक्रबार साँझ नै महाधिवेशनको बन्द सत्र भृकुटीमण्डपको हलमा शुरु भएको थियो बन्द सत्रमा महामन्त्रीको प्रतिवेदन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन र लेखा समितिको प्रतिवेदन पेश गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

यसअघि शुक्रबार नै कांग्रेस महाधिवेशनमा चार हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधि कायम गरिएको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ संघीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट गरी महाधिवेशन प्रतिनिधिको सङ्ख्यामा चयन गरिएको हो। निर्वाचन समितिले शुक्रबार महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन गरेको हो।


२०७८ मंसिर २५, शनिबार ०८:०७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय