काठमाडौं : गएरातिदेखि नेपाल भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण फेरि हिउँदे वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागले आजदेखि हिउँदे वर्षासँगै हिमपातको सम्भावना रहेको जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाले आजदेखि शनिबारसम्म देशका विभिन्न भागमा वर्षा र हिमपात हुने प्रक्षेपण गरेको छ।

आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। भोलिदेखि पश्चिमी न्यूनचापीय प्रणाली देशभर फैलिने भएको छ।

महाशाखाका अनुसार बिहीबार र शुक्रबार सुदूरपश्चिमदेखि लुम्बिनी प्रदेश, गण्डकी प्रदेश तथा बागमती प्रदेशसम्म हिउँदे वर्षाको विशेष प्रभाव रहनेछ।

पाँचै प्रदेशमा पूर्ण बदली भई हल्कादेखि मध्यम वर्षा हुनेछ। उच्च हिमाली र पहाडी भेगमा हिमपातको सम्भावना रहेको छ।

प्रदेश १ र २ मा अन्य प्रदेशको तुलनामा हिउँदे वर्षाको प्रभाव कम पर्ने महाशाखाले जनाएको छ। दुवै प्रदेशमा केही स्थानमा आंशिकदेखि सामान्य बदली रही हल्का वर्षाको सम्भावना रहेको छ।

हिउँदे वर्षाका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात तथा दैनिक जनजीवनमा बढी असर पर्ने महाशाखाले जनाएको छ। चार दिन सचेत रहन र सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।


२०७८ पुष २१, बुधबार ०८:५७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय