mukhya_mantri_raut_nepalvani

जनकपुरधाम : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभामा विचाराधीन प्रदेश सहकारी विधेयक छिट्टै पारित हुने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभाको आज जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री राउतले सहकारी ऐन बनाउने विधेयक प्रदेशसभाभित्र रहेको र छिट्टै पारित हुने विश्वास व्यक्त गर्नुभयो ।

“सहकारी ऐन छिटोभन्दा छिटो पारित गर्ने विषयमा छलफल भइरहेका छन्”, मुख्यमन्त्री राउतले भन्नुभयो, “हामीलाई विधेयक ल्याउन विलम्ब भएको छ, त्यसमा मलाई पनि दुःख लागेको छ तर अब पिलम्ब हुँदैन छिट्टै पारित हुन्छ ।”

सहकारी विधेयक पारित गर्नु सहकारीका विज्ञहरूसँग ऐनमा समेट्नुपर्ने विषयवस्तु र सुधारका कार्यक्रमबारे सरसल्लाह गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता थियो । सहकारी विधेयक पारित भएपछि सहकारी ऐनका रूपमा त्यसलाई मूर्त रूप दिने र सामाजिक विकासका लागि प्रदेश सरकारले आगामी दिन सहकारी संस्थासँग सहकार्य गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।

प्रदेश सरकारले ल्याउन लागेको सहकारी ऐन प्रदेशका सहकारी संस्थाहरूको सुधारका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुहुँदै मुख्यमन्त्री राउतले सहकारीहरूलाई सबल बनाउन प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

नागरिकलाई बढीभन्दा बढी राहत दिने, उहाँहरूको आर्थिक गतिविधिमा सहयोग गर्ने, जीवनस्तरलाई उकास्ने र जीवनमा परिवर्तन ल्याउनु प्रदेश सरकारको प्रमुख दायित्व भएकाले त्यसका लागि सहकारी संस्थाहरूसँग सहकार्य तयार रहेको बताउनुभयो ।

प्रदेश सरकार र स्थानीय तह समेतले केही पूँजीहरू सहकारीहरूसँग समन्वय र सहकार्य गरी अगाडि बढाउन सकिए थुप्रै जनतालाई लाभान्वित गर्न सकिने विश्वास व्यक्त गर्नुहुँदै मुख्यमन्त्री राउतले जनताको जीवनस्तर उकास्न सहकारी संस्थाहरूले खेलेको भूमिका उल्लेखनीय रहेको चर्चा गर्नुभयो ।

mukhya_mantri_raut_nepalvani1

मुलुकको आर्थिक समृद्धिमा सहकारी संस्थाहरूले महत्वपूर्ण भूमिका खेल्दै आएकाले अर्थतन्त्रको तीन खम्बामध्ये सहकारीलाई एक खम्बाका रूपमा संविधानले पनि स्वीकार गरेको उल्लेख गर्नुहुँदै उहाँले समाजमा छरिएर रहेका पूँजीहरूलाई एकीकृत गरेर जनतालाई सेवा पु¥याउन सहकारीले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य तथा सहकारीकर्मी शिवचन्द्र चौधरीले सहकारी संस्थाहरू बलियो भएमात्र सहकारी बैंक फस्टाउन सक्ने बताउनुहुँदै सहकारी बैंकले सहकारी संस्थाहरूलाई बलियो बनाउन आवश्यक योजनाहरू ल्याउनुपर्ने बताउनुभयो ।

mukhya_mantri_raut_nepalvani41

जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठले उद्योगी व्यवसायीहरूले सरल र सहज रूपमा ऋण पाउन नसक्ने तरलतालाई हटाउन सहकारी संस्था र सहकारी बैंकहरूले पनि स–साना ऋणहरू प्रदान गर्नुपर्ने बताउनुभयो । सो अवसरमा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले विगत केही वर्षदेखि महामारीका रूपमा फैलिएको कोरोना सङ्क्रमणका कारण सहकारी संस्थाहरू धराशयी बन्दै गएको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंक प्रदेश नं २ का संयोजक विश्वनाथ मण्डल, मुख्यमन्त्री राउतका मुख्य स्वकीय सचिव जितेन्द्र यादवले सहकारीले सामाजिक विकासमा खेल्दै आएको भूमिकाबारे स्पष्ट पार्नुभयो । प्रदेशस्तरीय उत्कृष्ट सहकारी पुरस्कारबाट राजविराजस्थित आइडिएल सहकारी संस्था र सर्लाहीको हरिवनस्थित हाम्रो कृषि सहकारी संस्थालाई पुरस्कृत गरिएको छ । मुख्यमन्त्री राउतले दुवै संस्थाका पदाधिकारीलाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।


२०७८ पुष २६, सोमबार २०:२५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय