
काठमाडौं : संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख मिशेल ब्याशेलेले म्यानमारका जनताको ज्यान र स्वतन्त्रताप्रति संवेदनशिल नबनेकामा त्यहाँको सरकारले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।
म्यानमारविरुद्धको अन्तर्राष्ट्रिय प्रतिक्रियालाई अप्रभावी भन्दै उनले संकटबाट त्यहाँका नागरिकलाई पार लगाउनेगरी काम नभएको बताए । म्यानमारका सैनिक शासकलाई आफ्नै जनताविरुद्ध हिंसा बन्द गर्न र छिटो नागरिक शासन पुनःस्थापित गर्न विश्व नेताहरुले दबाब बढाउनुपर्नेमा पनि उनले जोड दिएका छन् ।
म्यानमारमा मानवअधिकार र प्रजातन्त्र पुनर्स्थापना गर्न र प्रणालीगत मानवअधिकार उल्लंघन र दुव्र्यवहारका दोषीहरूलाई कारबाही सुनिश्चित गर्नको लागि तत्काल कदम चाल्नुको विकल्प नभएकोमा राष्ट्रसंघको मानवअधिकार कार्यालयले जोड दिएको छ ।
म्यानमारको सेनाले गत वर्ष फेब्रुअरी १ मा सत्ता कब्जा गरी नागरिक सरकारलाई अपदस्थ गर्दै नेत्री आङ साङ सुकीलाई गिरफ्तार गरेको थियो । उक्त कदमको विरोधमा म्यानमारका जनताको विद्रोह अहिले पनि जारी छ ।
यस क्रममा सेनाले गरेको रक्तपातपूर्ण कारवाहीमा सयौंले ज्यान गुमाएका छन् । अझै पनि हजारौं नागरिकलाई सरकारको विरोधमा लागेको आरोपमा सेनाले हिरासतमा राखेको छ ।