काठमाडौं : स्थानीय तहको निर्वाचन वैशाख ३० मा नगर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले दरपीठ गरेको छ ।
महोत्तरीको भंगाहा नगरपालिकाका मेयर सन्जिवकुमार साहले आफूहरूले ५ वर्षे कार्यकाल उपभोग गर्न नपाउने भन्दै रिट विनेदन लिएर गएकोमा सर्वोच्चले दर्ता गर्न अश्वीकार गरेको हो ।
सर्वोच्चका रजिष्ट्रार नारायणप्रसाद पन्थीले आदेश जारी गर्दै स्थानीय तह निर्वाचन ऐन बमोजिम अलग-अलग मितिमा सम्पन्न भएको निर्वाचन पहिला चरणमा भएको मितिमा सम्पन्न भएको मानिने भएकाले निवेदकको दाबी आधारहीन भएकोले दरपीठ गरिएको जनाएका छन् ।
२०७४ असोज २ मा सम्पन्न निर्वाचनको ५ वर्ष असोजमा मात्र पुग्ने भएकाले असोजपछिमात्र निर्वाचन हुनुपर्ने माग रिट निवेदकको रहेकोमा सर्वोच्चले वैशाख ३० लाई नै ५ वर्ष मान्ने प्रष्ट पारेको छ ।
सर्वोच्चको यो निर्णयसँगै वैशाख ३० मा हुने चुनाव अदालतबाट रोकिन सक्ने आशंकालाई अन्त्य गरेको छ ।