
काठमाडौं : नेपाल डेरी एशोसियशन र डेरी उद्योग सङ्घले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले वृद्धि गर्ने घोषणा गरेका छन्।
निजी क्षेत्रबाट दूध बिक्री गर्ने यी दुई डेरी उद्योगले पत्रकार सम्मेलन गरी सरकारले निर्धारण गरेको दूधको मूल्य आफूहरूलाई मान्य नहुने भन्दै यही फागुन १ गतेदेखि लागू हुने गरी दूधको प्रतिलिटर मूल्य १० रुपैयाँले बढाएर ८६ रुपैयाँ कायम गरेको घोषणा गरेका हुन्।
त्यसैगरी किसानले पाउने मूल्य प्रतिलिटर ५३ रुपैयाँ ४५ पैसाबाट बढाएर ६२ रुपैयाँ कायम गरिएको छ। यो मूल्यको दूधमा चार प्रतिशत फ्याट र आठ प्रतिशत एसएनएफको गुणस्तर कायम हुनुपर्छ।
पहिला स्ट्यान्डर्ड प्रशोधन गरिएएको दूधको प्रतिलिटर मूल्य ७६ रुपैयाँ थियो भने अब ५०० एमएलको एक प्याकेटको खुद्रा बिक्रि मूल्य ४३ रुपैयाँ हुनेछ।
डेरी उद्योग सङ्घका अध्यक्ष राजकुमार दाहालले दूधको मूल्यबारे पटकपटक सरकार र सम्बन्धित निकायलाई सल्लाह र सुझाव दिँदासमेत बेवास्ता भएपछि आफूहरूले मूल्य घोषणा गर्न बाध्य भएको जानकारी दिए।