काठमाडौं : नेपाल इन्जिनियर्स एसोसिएसनको नयाँ नेतृत्वका लागि फागुन २७ गते निर्वाचन हुँदैछ । गत वर्ष नै उम्मेदवारी परे पनि विभिन्न कारणबस ५ पटक स्थगित भइसकेको निर्वाचन फागुन २७ मा गर्ने गरी सम्पूर्ण तयारी पूरा भएको छ ।

सो निर्वाचनमा संघीय सरकारमा सामेल तीन दलबीच गठबन्धन भएको छ । ७ वटै प्रदेशका साथै केन्द्रीय कार्यसमितिका लागि नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र नेकपा एकीकृत समाजवादी निकटका नेपाल राष्ट्रिय इन्जिनियर संगठन, सोसलिस्ट इन्जिनियर एशोसिएसन नेपाल र नेपाल इन्जिनियरिङ समाज मिलेर एकीकृत प्रगतिशील इन्जिनियर समूह बनाइ गठबन्धनका आधारमा चुनावी प्रतिस्पर्धामा उत्रेका छन् ।

मधेस प्रदेशमा एकीकृत प्रगतिशील इन्जिनियर समूह तुलनात्मक रुपमा बलियो मानिएको छ । तीन दल निकटका इन्जिनियरहरूले गठबन्धनका आधारमा उम्मेदवारी दिएका हुन् । सो समूहबाट मधेस प्रदेश उपाध्यक्षका प्रत्यासी कार्तिकेश झाले आफूहरुको जित सुनिश्चित रहेको दाबी गरेका छन् । उनले लोकतान्त्रिक, विकास, एकीकृत आविष्कारक, अन्तर्राष्ट्रियकरण र मर्यादा तथा रोजगार सिर्जनाका लागि आफूहरु समर्पित रहेको भन्दै जित सुनिश्चित रहेको दाबी गरेका हुन् ।

कोषाध्यक्षको उम्मेदवार अञ्जुकुमारी यादवले मुलुकमा इन्जिनियरको आवश्यकता अत्याधिक रहे पनि राज्य र सम्बन्धित निकायले सो जनशक्तिको समुचित व्यवस्थापन गर्न नसकेको बताइन् । मधेस प्रदेशबाट केन्द्रीय सदस्यका उम्मेदवार संजयकुमार यादवले मधेस प्रदेशमा एकीकृत प्रगतिशील इन्जिनियर समूहको बाहुल्यता रहेकाले स्वतः जित सुनिश्चित रहेको दाबी गरे ।

केन्द्रीय कार्यकारिणी समितिका लागि अध्यक्ष पदमा डा.हरिराम पराजुली, उपाध्यक्षमा न्हसला तुलाधर, महासचिव डा.शंकर ढकाल, उपमहासचिवमा डा.समित थापा, कोषाध्यक्षमा श्याम नारायण चौधरी र सहकोषाध्यक्षमा स्मिता भट्टले उम्मेदवारी दिएका छन् ।

त्यस्तै मधेश प्रदेशको नेतृत्वका लागि एकीकृत प्रगतिशील इन्जिनियर समूहको तर्फबाट सभापतिमा राजेश यादव, मधेश प्रदेशको तर्फबाट केन्द्रीय सदस्यमा संजयकुमार यादव, मधेस प्रदेश उपसभापतिमा कार्तिकेश झा, सचिवमा रामनारायण यादव, सह सचिवमा राजिव साह, कोषाध्यक्षमा अञ्जुकुमारी यादव चुनावी प्रतिस्पर्धामा उत्रेका छन् ।

त्यस्तै सदस्यहरुमा रविकुमार पटेल, दयानन्द साह, विशालकुमार झा, सोनाली ठाकुर, जितेन्द्रकुमार यादव, प्रविणकुमार यादव, कुन्दन कुमार ठाकुर, अमितकुमार यादव, प्रदिपकुमार यादव र रोशनीकुमारी झा पनि चुनावी प्रतिस्पर्धामा छन् ।


२०७८ फाल्गुन २६, बिहीबार १७:४६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय