
अनिल साह,
धनुषा : जिल्लाको विदेह नगरपालिका स्थित बजरंग स्पोर्टस क्लव तिनकोरिया बजारले बुधबार होरी महोत्सव भव्यताका साथ मनाइएको छ ।
तिनकोरिया क्लवले आयोजना गरेको उक्त महोसत्व बाजागाजा तथा जोगिराहरु गाएर बनाइएको छ । यस अवसरमा यहाँका किर्तनी मण्डलीलाई राम्रो गायन गर्नेलाइ पुरस्कृतसमेत गरेको छ ।
होरी महोसत्वमा पवन झा , अनिम लाल मण्डल , पवन मण्डल, गोविन साह लगायत स्थानीय राजनीतिकर्मी, स्थानीयवासी तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
तराई–मधेशका अधिकांश क्षेत्रमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाइने चलन भए पनि प्राचीन मिथिलाको राजधानी जनकपुधाममा अन्तरगृह परिक्रमा सकेको भोलिपल्ट होली पर्व मनाइने गरिएको छ । पन्ध्र दिने मिथिला परिक्रमा सहभागी तीर्थयात्री जनकपुधामको परिक्रमा गरी आआफ्नो गन्तव्यमा पुग्ने गरेका कारण होली मनाइने चलनमा यहाँ केही फरक देखिएको हो ।
यस वर्ष पहाड होली बिहिबार छ भने तराई होली शुक्रबार रहेको छ । होलीको उपलक्ष्यमा दुवै दिन सार्वजनिक विदा दिएको छ ।
यसरी प्राचीनकालदेखि चलिआएको लामो समयसम्म मनाइने समानताको यो पर्व ओझेलमा पर्न थालेको र केही विकृति पनि देखिन्छ ।
प्राचीन ग्रन्थमा यसको चर्चा वसन्त महोत्सव र काम महोत्सवका रूपमा गरिएको छ । सबै प्रकारका भेदभावलाई भष्म गरी परस्परमा रङ हाल्दै सबैलाई रशरङ्गले तरङ्गीत तुल्याउने होली उल्लास र रङ्गीचङ्गीको पर्व पनि हो । जैमिनी, शबर, वात्स्यायन आदिद्वारा रचित ग्रन्थका साथै भविष्यपुराण, लिङ्गपुराण, वराहपुराण, हिमादी आदिमा पनि यसको वर्णन पाइन्छ ।
सबैलाई एउटै रङ्गमा रङ्गाउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको छ । हिन्दू, मुस्लिम, सिख, इसाई, मङ्गोल, किराँत, राई आदिमा एकताको सन्देश दिँदै यस पर्वले सबैको मनमा उमङ्ग एवं उत्साहको सञ्चार गर्दै आएको छ । असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको छ ।