
जनकपुरधाम : मिथिलाको सबैभन्दा लामो तीर्थयात्रा १५ दिने मिथिला परिक्रमा शुक्रबार समापन भएको छ ।
शुक्रवार बिहान जनकपुरधामको पञ्चकोशी परिक्रमा गरेपछि पूरा समापन भएको छ । मिथिला परिक्रमाको डोला जनकपुरधाम आएसँगै परिक्रमाका सहभागीहरुले नगर क्षेत्र भरिभराउ भएको थियो । डोला बिहान उठेपनि परिक्रमाका सहभागीहरुले राति नै पञ्चकोशी परिक्रमा पूरा गरी घर फर्कने गरेका छन् ।
भारत बिहार राज्यको कल्याणेश्वरनाथ महादेवलाई साक्षी राखी औपचारिक रुपमा प्रारम्भ भएको परिक्रमा पुनः कल्याणेश्वरनाथ महादेवको दर्शन गरी जनकपुरधामको पञ्चकोशी परिक्रमाका लागि जनकपुरधाम आइपुगेका थियो । परिक्रमाका सहभागीहरुलाई भेंटन आफन्तहरु समेत आएकाले लाखौ मानिसको भीड जनकपुरधाममा भएको छ । तर उनीहरुका लागि समुचित बास, शौचालय, खानेपानीको व्यवस्था कुनै निकायले गरेको छैन् ।
अनुत्पादक क्षेत्रमा करोडौ खर्च गर्ने प्रदेश सरकारले परिक्रमावासीका लागि सुको खर्च नगरेको आरोप साधुसन्तहरुले लगाएका छन् । प्रदेश सरकारले ‘म्यारेज एनिभर्सरी’को नाममा एक करोड रुपैयाको बिजुली महसुल तिर्ने निर्णय गरेको छ । तर पर्यटनको प्रचुर संभावना बोकेको १५ दिने परिक्रमालाई प्रदेश सरकारले पूरा वेवास्ता गरेको आरोप लगाइएको छ ।
मिथिलाको लोकमान्यता अनुसार जनकपुरधामको पञ्चकोशी परिक्रमा फागु पुर्णिमाको दिन गरिन्छ । पूर्णिमाको पञ्चकोशी परिक्रमा गरी सहभागीहरुलाई घर फर्किन साँझ पर्ने भएकाले भोलिपल्ट होली खेल्ने चलन रहेको बताइन्छ । पूर्णिमाको दिन मिथिलामा मद्यमांस नखाने चलन रहेको बताइन्छ । जिल्ला प्रशासन कार्यालय धनुषाले विहीबार र शुक्रवार परिक्रमाको अवसरमा पञ्चकोशी परिक्रमा क्षेत्रलाई मद्यमांस निषेधित क्षेत्र घोषणा गरेको छ ।
नेपाल र भारतको मिथिला क्षेत्र बाहेकका भूभागमा होली शुक्रवार नै मनाइनेछ । नेपालको पहाडि र हिमाली जिल्लाहरुमा विहिवार नै होली मनाइएको छ । मिथिला क्षेत्रमा शनिवार होली हुनेछ ।