जनकपुरधाम : होरी महोत्सवको पूर्वसन्ध्यामा आयोजित महामूर्ख सम्मेलनबाट मधेस प्रदेश सरकारका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झालाई महामूर्खको उपाधि दिइएको छ ।

शुक्रबार जनकपुरधाममा मिथिला नाट्यकला परिषद (मिनाप) ले फागु महोत्सवको अवसरमा आयोजना गरेको महामुर्ख सम्मेलनबाट उपाध्यक्ष डा. झालाई महामुर्खको उपाधि दिइएको हो ।

हरेक वर्ष झैँ यस वर्षपनि होरी महोत्सवको अवसरमा आयोजित महामुर्ख सम्मेलनबाट समाजसेवी, राजनीतिककर्मी, मन्त्री, प्रदेशसभा सदस्य, जनप्रतिनिधिहरुलगायत दर्जनौं व्यक्तिहरुलाई विभिन्न उपाधि दिइएको छ ।

मिनापले प्रत्येक वर्ष समाजमा विभिन्न माध्यमले योगदान गरेको भन्दै एक दर्जनलाई महामुर्ख सहित मूर्खको विभिन्न उपाधि दिँदै आएको छ । सो मध्ये एक जनालाई महामूर्खको उपाधि दिने गरेका छन् ।

महामुर्ख सहितको विभिन्न उपाधि पाउनेहरुलाई प्रशंसा पत्र, मिथिला चित्रकला, फूल तथा विभिन्न तरकारी मिश्रित माला तथा दोसल्ला ओढाएर सुशोभित गरी सम्मान गरेको थियो । यससाथै अन्य ११ जनालाई मूर्खको उपाधि दिएको छ ।

doctor_bhogendra_jha_mahamurkh_hori_minap1

यस कार्यक्रमबाट प्रदेशसभा सदस्य मञ्जु यादवलाई अदल बदली, नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरका नगर समितिका उपसभापति राकेश बिक्रम साहलाई टिटही, मिथिला चित्रकार मनिषा साहलाई गन्हकी, मिथिला वाइल्डलाईफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डललाई हराशंख, नेपाल पत्रकार महासंघ धनुषा शाखाकी अध्यक्ष मनिका झालाई दिलतोरिया, अधिवक्ता सुदिप कोइरालालाई गोबर गणेश, गिद्धाबेलापट्टी विद्यालयका प्रधानाध्यापक पवन मण्डललाई डपोर शंख, वरिष्ठ कलाकार रामरेखा पण्डितलाई बज्रकिट, जनकपुरधाममा मिथिला चित्रकलालाई शुरुवात गरेकी मिथिलेश्वरी कर्णलाई लालबुझकड, व्यवसायी अभिशेष चौधरीलाई बोतलानन्द र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न उपाध्यायलाई बैशाखनन्दनको उपाधि दिइएको छ ।

२०७८ चैत्र ४, शुक्रबार १९:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय