
एजेन्सी : रुसका रक्षामन्त्रीलाई हृदयघात भएको स्रोतहरुलाई उद्धृत गर्र्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
पछिल्ला दिनमा सार्वजनिक रुपमा नदेखिएका रुसी रक्षामन्त्री सर्गेइ शोइगु हृदयघातबाट ग्रसित भएको युक्रेनी अधिकारीले दाबी गरेका हुन्।
युक्रेनको आन्तरिक मामिला मन्त्रालयका सल्लाहकार एन्तोन गेराश्चेन्कोले रुसी रक्षामन्त्री सार्वजनिक रुपमा नदेखिनुमा हृदयघात कारक रहेको बताएका हुन्।
सर्गेइ मार्च ११ यता सार्वजनिक रुपमा देखिएका छैनन्। तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार (मार्च २४) मा सार्वजनिक गरेको भिडियोमा भने केही क्षण रक्षामन्त्री देखिन्छन्।
युक्रेनी आन्तरिक मामिला मन्त्रालयका सल्लाहकार एन्तोनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘युक्रेनमा रुसी आक्रमणको असफलताको पूर्ण जिम्मेवार रहेको आरोप पुटिनले लगाएपछि सर्गेइलाई हृदयघात भएको हो। उनी अहिले उपचाररत छन्।’
रुसले भने रक्षामन्त्री सर्गेइको स्वास्थ्य अवस्थाबारे कुनै पनि जानकारी दिएको छैन।