नेपालवाणी सम्वाददाता, 

महोत्तरी : महोत्तरी जिल्लाको मटिहानी नगर प्रमुख हरिप्रसाद मण्डल ‘हिरो अफ मधेश’ घोषित भएका छन् । नगर प्रमुख मण्डललाई मधेशी पत्रकार समाजले आज मङ्गलबार ‘हिरो अफ मधेश’ घोषित गरेको हो ।

समाजका केन्द्रीय अध्यक्ष तथा ‘हिरो अफ मधेश’ चयन समितिका संयोजक मोहन सिंहले स्थानीयतहमा सकारात्मक प्रयत्न अघि बढाउनेहरुलाई सम्मानका लागि चयन गरिएको पुष्टि गरेका छन् । “आम रुपमा सबै जनप्रतिनिधिप्रति नकारात्मक टिप्पणी बढे, यसले असल र जनमुखि कामलाई प्राथमिकता दिनेहरु पनि ओझेलमा परे” अध्यक्ष सिंहले भने, “यहाँ नराम्रो मात्र छैन, राम्रा प्रयत्न पनि थालिएका छन् भन्ने दृष्टान्त दिन असल कामको थालनी गर्ने हरुलाई ‘हिरो अफ मधेश’ सम्मानका लागि चयन गरिएको हो ।”

‘हिरो अफ मधेश’मा फर्म भरेर सदस्यता हासिल गरेकाहरुको मतको आधारमा यो निणर्य लिइएको समाजले जनाएको छ । नयाँ पुस्ताको कामलाई प्रोत्साहन र प्रबद्र्धन गर्न तथा समाजमा भएका सकारात्मक परिवर्तनलाई उजागर गर्न गठित ‘हिरो अफ मधेश’ सम्मानका लागि मुलुकका बिभिन्न भेगका स्थानीयतहका जनप्रतिनिधि र समाजसेवी छानिएका अध्यक्ष सिंहको भनाइ छ । नगर प्रमुख मण्डल यिनैमध्ये एक हुन् ।

यो सम्मान महोत्तरी, झापा, मोरङ्ग, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ्ग, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र काठमाण्डौसहितका जनप्रतिनिधि र सामाजिक कार्यकर्तालाई दिइने व्यवस्था रहेको समाजले जनाएको छ । राष्ट्रिय र प्रदेशमा छुट्टाछुट्टै व्यक्ति छनौट गरी सम्मानित गरिने सिंहको भनाइ छ ।

महोत्तरीबाट सम्मानका लागि चयन भएका मटिहानी नगर प्रमुख नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाका तीन कार्यकाल अध्यक्ष, प्रेस काउन्सिल नेपालका सदस्य तथा श्रमजीवी पत्रकाररुको न्यूनतम पारिश्रमिक निर्धारण समितिको सदस्य रही सकेका वरिष्ट पत्रकार हुन् । अहिले पनि नगर प्रमुख मण्डल महोत्तरीबाट प्रकाशित हुने तथ्य साप्ताहिकका प्रकाशक हुन् ।


२०७८ चैत्र १५, मंगलवार १९:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय