
नेपालवाणी सम्वाददाता,
बर्दिबास : वैदेशिक रोजगारीबाट फर्केर मुलुकमै केही काम गर्न चाहनेहरुले गठन गरेका ‘रिटर्नी फेडरेशन नेपाल’ को साङ्गठनिक गतिविधि महोत्तरीमा बढेको छ । यसै चैतको प्रारम्भमा महोत्तरीमा जिल्ला तदर्थ समिति गठन गरेको फेडरेशनले आज मङ्गलबार अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको हो ।
वैदेशिक रोजगारबाट फर्केका साथीहरुको ठूलो जमातलाई सङ्गठित र एकताबद्ध गर्न रिटर्नी फेडरेशनमा आबद्ध भइएको महोत्तरीका युवाले बताएका छन् । “हामीले विदेशमा गएर सीप, मेहनत र अनुशासन देखे बुझेका छौं” अन्तर्कृयाका सहभागी एक युवाले भने, “हामी त्यो सीप र अनुशासनको अनुशरण आफ्नै माटोमा उतार्न चाहान्छौं ।”
वैदेशिक रोजगारबाट फर्केका हरुतिर राज्यको आँखा नपुगेको ‘रिटर्नी’ हरुको गुनासो छ । “हामी सीपयुक्त छौ, अनुशाषित र मेहनती पनि” रिटर्नी फेडरेशन महोत्तरीका अध्यक्ष विराज बिष्ट भन्छन्, “राज्यले अवसर सिर्जना गरी दिए हामी आफ्नै माटोमा ‘सुन’ फलाउन सक्नेछौ ।” यो अवस्था बुझाउन र राज्यलाई घचघच्याउन सङ्गठनलाई स्थानीयतह (पालिका) मा पनि विस्तार गरिन लागिएको बिष्टले बताए ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय अनुशासन आयोगका सदस्य दुर्गा दाहाल, प्रदेश कमिटी सदस्य चन्द्रलाल क्यापछाकी, गुञ्ज खड्का र शारदा थापासहितका व्यक्तित्वले रिटर्नी फेडरेशनको सफलताको कामना गरेका छन् । कार्यक्रम जिल्ला अध्यक्ष विराज बिष्टको अध्यक्षतामा सम्पन्न भएको हो ।
रिटर्नी फेडरेशन नेकपा (एमाले)को जनसङ्गठन हो । भर्खरै सङ्गठित गरिएको यो सङ्गठनका शाखा एक महिनाभित्रै ५० भन्दा बढी जिल्लामा गठन भइसकेका रिटर्नी फेडरेशनले जनाएको छ ।