जनकपुरधाम : विनयतारा क्यान्सर ट्रष्टले २०७९ वैशाख २ गते जनकपुरधाममा आफ्नो २०० शैयाको क्यान्सर अस्पताल भवनको शिलान्यास गर्नेछ । शिलान्यास समारोहको प्रमुख आतिथ्य नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले गर्नुहुनेछ । यही वैशाख २ गते (अप्रिल १६) बिहान ९ बजे हुने शिलान्यास कार्यक्रममा हजारौं व्यक्तित्वहरु सहभागी हुने अपेक्षा गरिएको छ । अस्पतालको नाम विनयतारा फाउण्डेशन क्यान्सर सेन्टर रहनेछ ।

विनयतारा फाउण्डेशन (अमेरिका) सँगको सहकार्यमा निर्माण गरिन लागेको विनयतारा फाउन्डेशन क्यान्सर सेन्टर (बिटिएफसिसि) आधुनिक अमेरिकी क्यान्सर अस्पताल जस्तै बनाउने फाउन्डेशनका अध्यक्ष डा. विनय शाह को भनाई छ । “यस अस्पतालको निर्माण गरिने भनिएको भवन अमेरिकाको सान फ्रान्सिस्को स्थित फोंग एण्ड चान आर्किटेक्ट्स द्वारा डिजाइन गरिएको हो । उनीहरूको नवीनतम डिजाइन अस्पतालको कार्यक्षमतालाई प्रभावकारी बनाउने खालको छ,” डा. शाह भन्छन् “पहिलो चरणमा यो अस्पताल १००,००० वर्ग फुटमा सञ्चालन हुनेछ । हामी सन् २०२५ सम्ममा १०० शैयाको भवन निर्माण गरिसक्नेछौं ।” अस्पताल भवन निर्माणको लागी स्थानीय समर्थक तथा समाजसेवी श्री विनोद ठाकुरले केही जग्गा दान गर्नुभएको थियो ।

बिटिएफसिसिले प्रति वर्ष लगभग २५,००० बिरामीलाई सेवा दिने लक्ष्य राखेको छ । विगतमा, यी मध्ये धेरै बिरामीहरूले क्यान्सरको उपचारका लागि ८ घण्टा वा बढी यात्रा गर्नुपथ्र्यो । यस्तो यात्राका लागि स्रोतसाधन नभएकाहरूले उपचार नै पाउँदैनथिए ।
हाल जनकपुरधाम मा बिटिएफसिसि को २५ वटा शैंयाको अस्पताल सञ्चालनमा रहेको छ । जनकपुरधामको कपिलेश्वर रोडमा भाडाको भवनमा रहेको सो अस्पतालका सेवाहरूमा मेडिकल ओन्कोलोजी, सर्जिकल ओन्कोलोजी, टाउको र घाँटीको क्यान्सर सर्जरी, प्रयोगशाला, फार्मेसी, आपतकालीन कोठा, रेडियोलोजी, हिस्टोप्याथोलोजी, आइसियु र एनेस्थेसियोलोजी समावेश छन् । बिटिएफसिसि ले शिक्षा र क्यान्सर अनुसन्धानको लागि केन्द्रको रूपमा सेवा गर्दै नयाँ सुविधामा अझ बढी बिरामीहरूलाई अत्याधुनिक उपचार उपलब्ध गराउने लक्ष्य राखेको छ ।
यो दक्षिण एसिया कै आधुनिक अस्पतालको रुपमा स्थापित हुनेछ । “हामी क्यान्सरको उपचारमा २१ औं शताब्दीको अत्याधुनिक टेक्नोलोजीे प्रयोग गर्नेछौं ।’’ डा. शाह भन्छन् “यस अस्पतालमा डाक्टर र अनुसन्धानकर्ताहरूले उच्च गुणस्तरको क्यान्सर उपचार प्रदान त गर्ने नै छन्, त्यसको साथसाथै यो संस्था क्यान्सर निदानको लागि उच्च कोटीको रिसर्च सेन्टरको रूपमा पनि काम गर्नेछ ।”

Capture

विनयतारा क्यान्सर ट्रष्ट (बिसिटी) का अध्यक्ष डा. योगेन्द्र प्रसाद सिंह का अनुसार यस क्षेत्रमा विश्वस्तरीय क्यान्सर सेन्टर खोल्नुले यस क्षेत्रका मानिसको स्वास्थ्य उपचारमा मात्र मद्दत गर्ने नभई आर्थिक, सामाजिक गुणस्तर र जीवनयापनमा पनि आमुल परिवर्तन ल्याउनेछ । “हामी अन्तराष्ट्रिय स्तरको क्यान्सर उपचारलाई मधेस मा लिएर आउँदैछौं । यसलाई मधेस परिवर्तनको अभियानको रुपमा हामीले लिएका छौं। यहाँको अर्थतन्त्र मजबुत हुनेछ, मानिसहरुले रोजगारी पाउनेछन् र स्वास्थ्य सेवाको लागि मधेस बिरामीहरुको गन्तव्य स्थल हुनेछ । अबको १० वर्षमा तपाईं अहिले यहाँ जे देखिरहनुभएको छ त्यो तस्वीरमा सीमित इतिहास बन्नेछ ।”

विनयतारा क्यान्सर ट्रष्ट एड्भाइजरी कमिटिका अध्यक्ष, प्रसिद्ध चर्मरोग विशेषज्ञ, डा. अनिल कुमार झा भन्छन् “विनयतारा फाउण्डेशन क्यान्सर सेन्टरको भिजन, मिसन र लक्ष्य भनेको मधेस, सिङ्गो नेपाल र छिमेकी देशका सीमावर्ती क्षेत्रका क्यान्सर रोगीका लागि अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा प्रदान गर्नु हो । हामीलाई थाहा छ, यो अस्पताल निर्माण तथा स्थापनामा धेरै चुनौतीहरु छन् तर बिटिसी परिवार यसलाई सम्भव र सत प्रतिसत सफल बनाउनेमा प्रतिबद्ध छौं ।”

विनयतारा क्यान्सर ट्रष्टको बारेमा

विनयतारा क्यान्सर ट्रष्ट २०७५ श्रावणमा कम्पनी रजिष्ट्रारको कार्यालयमा (रजिस्ट्रेसन नं १९३८९७/०७५/०७६) गैर नाफामुखी संस्थाको रुपमा दर्ता भएको हो । स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाको क्षेत्रमा काम गर्न समर्पित यस ट्रष्टले २०७५ साल मंसीर देखि विनयतारा फाउन्डेशन क्यान्सर सेन्टर संचालनमा ल्याएको हो । बिटिएफसिसिको आफ्नो भवन निर्माण गरी यसलाई विश्वस्तरीय अस्पतालको रुपमा स्थापित गरेपछि ट्रष्टले आफ्ना अन्य योजनाहरुलाई अगाडि बढाउनेछ ।

विनयतारा फाउण्डेशनको बारेमा

विनयतारा फाउन्डेशन (अमेरिका) क्यान्सरको शिक्षा तथा उपचारका क्षेत्रमा कार्यरत गैर नाफामुखी गैर सरकारी संस्था हो । फाउन्डेशनका प्रमुख परियोजनाहरूमा अमेरिका तथा अन्य मुलुकमा हेमाटोलोजी र ओन्कोलोजी सम्मेलनहरू र नेपालमा क्यान्सर अस्पतालको स्थापना समावेश छ ।

२०७८ चैत्र २८, सोमबार १४:०२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय