काठमाडौं : एक महिनाको बीचमा नेपाली बजारमा कागतीको मूल्य झण्डै ३ गुणाले वृद्धि भएको छ । गत चैत एक गतेसम्म प्रतिकिलो थोकमा १९० रुपैयाँमा बिक्री भइरहेको कागतीको मूल्य वैशाख २ मा आइपुग्दा ३५० रुपैयाँसम्म पुगेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । बजारमा अहिले प्रतिगोटा कागतीको मूल्य २० रुपैयाँसम्म पुगेको छ ।

कालीमाटी बजारमा अहिले कागतीको प्रतिकिलो मूल्य कम्तीमा ३२० देखि ३५० रुपैयाँसम्म रहेको बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए । चिसो मौसममा उत्पादन हुने कागती महँगो हुनुमा पहिलो कारण मौसम र दोस्रो आयातको स्रोत मुलुक भारतमै महँगिएर नेपालमा असर देखिएको श्रेष्ठले बताए ।

‘अहिले कागतीको आयात नै एकदमै कम छ, नेपाली उत्पादन बजारमा खासै आउँदैन,’ श्रेष्ठले भने ‘माग उच्च भएका कारण भारतबाट भित्रिएको कागतीको मूल्य महँगो भएको छ ।’नेपालमा निकै कम मात्रामा कागती फल्ने र फलेको कागती पनि ठूला बजारसम्म नआइपुग्ने भएकाले कागतीमा काठमाडौं जस्तो ठूलो सहर भारतमै परनिर्भर रहेको श्रेष्ठको भनाइ छ ।

नेपालमा कागती आयात गर्ने व्यवसायी हरीप्रसाद शर्माकाअनुसार भारतमै अहिले कागतीको मूल्य प्रतिकिलो २ सय रुपैयाँ नेपाली लागत पर्छ ।‘हामीले कागती खरिद गर्ने भारतको आन्ध्र प्रदेशको गुडुरमै कागतीको लागत किलोमा २ सय पुगेको छ,’ शर्माले भने ‘ मुख्य स्रोतमै कागती कम उत्पादन भएको भन्दै महँगोमा पनि पाउन मुस्किल भएको छ ।’

महँगिएको ढुवानी लगायतका कारण बजारसम्म आइपुग्दा कागतीको मूल्य झनै बढेको उनको दाबी छ ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालका ३९ जिल्लामा कागती खेति हुन्छ । आर्थिक वर्ष २०७७/०७८ मा नेपालमा ८ हजार ५ सय हेक्टर क्षेत्रफलमा ४६ हजार एक सय १८ टन कागती नेपालमा उत्पादन भएको थियो ।

चालु आवको ८ महिनामा नेपालले ७८ लाख ५७ हजार ८७८ किलो कागती आयातका लागि ६० करोड २३ लाख ६१ हजार रुपैयाँ खर्च गरेको थियो । गत आवमा नेपालले ९१ करोड ९६ लाख रुपैयाँको कागती आयात गरेको थियो ।

२०७९ बैशाख २, शुक्रबार १८:५४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय