
काठमाडौं : सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टी (जसापा) का अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।
प्रचण्डसँग जसपा संघीय परिषद् अध्यक्ष डा. भट्टराई र केन्द्रीय समिति अध्यक्ष यादवले आइतबार भेटवार्ता गरेका हुन् ।
सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा तीन नेताबीच छलफल भएको हो । नेताहरुले बिहान ११ः४५ देखि १२ः२० सम्म छलफल गरेका थिए । छलफलपछि न्यूज एजेन्सी नेपाललाई संक्षिप्त प्रतिक्रिया दिँदै यादवले सामान्य गफगाफ मात्रै भएको बताए ।
आसन्न स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरुले गठबन्धन गरेर जाने निणर्य गरे पनि कतिपय स्थानीय तहमा गठबन्धनका लागि सहमति बन्न सकेको छैन । गठबन्धनका सम्बन्धमा विभिन्न अड्कलबाजीहरु भइरहेका बेला माओवादी केन्द्र र जसपाका नेताहरुबीच छलफल भएको हो ।