
चितवन : चितवनकाे महत्वपूर्ण क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ । स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरी जिल्लाको महत्वपूर्ण मानिएको क्षेत्र कारागार कार्यालय चितवन र भरतपुर विमानस्थलको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको हो ।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार निर्वाचनलाई लक्ष्य गरी जिल्ला सुरक्षा समितिको वैशाख १५ गतेको निर्णयानुसार महत्वपूर्ण निकायमा सेनाले सुरक्षाको जिम्मेवारी लिएको हो । यी क्षेत्रमा जेठ २ गतेसम्म नेपाली सेनाले सुरक्षाको जिम्मेवारी लिनेछ ।
निर्वाचनको समयमा प्रहरीमा पर्याप्त जनशक्ति नहुने हुँदा सुरक्षाको जिम्मेवारी सेनालाई दिइएको उनले बताए । ‘यी दुई क्षेत्रमा आन्तरिक काम नेपाल प्रहरीले गर्ने छ । सुरक्षा सेनाले दिनेछ,’ प्रजिअ तामाङले भने।
स्थानीय निकायको निर्वाचनलाई लक्ष्य गरी जिल्लामा सुरक्षा व्यवस्थासमेत मजबुत बनाइएको छ । निर्वाचन सुरक्षा योजनाअनुसार अहिले मतदानस्थलको सुरक्षाको अवस्थाका बारेमा जानकारी लिने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए।