
काठमाडौं : इंग्लिस प्रिमियर लिगमा लिभरपुलले एस्टन भिल्लालाई हराएको छ । उपाधि होडमा रहेको लिभरपुलले गएराति भएको खेलमा एस्टन भिल्लालाई २–१ गोलले हराएको हो ।
एक गोलले पछि परेको अवस्था उल्टाउँदै लिभरपुल विजयी भयो । लिभरपुलका जोएल मटिप र साडियो मानेले एक/एक गोल गरे । डुगलस लुइजले खेलको तेस्रो मिनेटमा नै गोल गरेपछि एस्टन भिल्लाले अग्रता लिएको थियो । तर जोगाउन सकेन । छैटौं मिनेटमा मटिपको गोलबाट लिभरपुलले बराबरी गर्यो । खेलको ६५औं मिनेटमा मानेले गोल गरेपछि लिभरपुल जित निकाल्न सफल भयो । जितसँगै लिभरपुलले शीर्षस्थानको म्यानचेस्टर सिटीसँग अंक बराबरी गरेको छ ।
लिभरपुलको ३६ खेलबाट ८६ अंक छ । सिटीको ३५ खेलमा ८६ अंक छ । गोलअन्तरका आधारमा लिभरपुल दोस्रो स्थानमा छ ।