महोत्तरी : महोत्तरीको बर्दिबास नगरपालिकामा अब नगर प्रमुखले प्रयोग गर्दै आएका सरकारी गाडी (जिप) बिरामी बोक्ने ‘एबुलेन्स’ बन्ने भएको छ । नवनिर्वाचित नगर प्रमुख प्रल्हादकुमार क्षत्रीले बिहीबार पदभार ग्रहण गर्दै नगरपालिकाको सरकारी गाडी आफ्नो सवारीमा प्रयोग नगर्ने बताउनु भएको हो ।

“यसअघि मेयरले प्रयोग गर्दै आएको सरकारी गाडी अब विपन्न वर्गका असाध्य बिरामीलाई अस्पताल पुर्‍याउन प्रयोग गरिने छ” नगर प्रमुख क्षत्रीले भन्नुभयो । आपूmले निजी सवारी नै प्रयोग गर्ने प्रमुख क्षत्रीको भनाइ छ । यस्तो सेवा पाउने बिरामी वडासमितिबाट विपन्न वा असहाय भएको सिफारिस भने भएको हुनपर्ने क्षत्रीले स्पष्ट पार्नु भएको छ ।

सम्पन्न स्थानीयतह निर्वाचनमा स्वतन्त्र समूह नै बनाएर प्रतिस्पर्धामा ओर्लनु भएका क्षत्री , उहाँकै समूहबाट उपप्रमुख तारादेवी महतो र वडानम्बर-१ , ७, १३ र १४ मा वडाअध्यक्षसमेत निर्वाचित भएका छन् । वडा नम्बर-१ बाट त अध्यक्ष तथा सदस्यसहित पाँचै जना स्वतन्त्र समूहका निर्वाचित भएका छन् ।

नवनिर्वाचित प्रमुख क्षत्रीले बर्दिबास अस्पतालको सेवालाई बढाउँदै प्रसुति सेवा प्रभावकारी बनाउने, गर्भवती महिलाको नियमित स्वास्थ्य जाँच गराउने र अस्पतालमा सुत्केरी गराइँदा सरकारले दिदै आएको यातायात खर्चमा थप एक हजार बढाएर उपलब्ध गराउने घोषणा पनि गर्नु भएको छ । नेपाल सरकारले हिमाली, पहाडी र तराई जिल्लामा बसोबास गर्ने महिलाका लागि अस्पतालमा सुत्केरी गराइँदा क्रमशः तीन हजार, दुई हजार र एक हजार यातायात खर्च उपलब्ध गराउदै आएको छ ।

जिल्लामा नवनिर्वाचित नगर प्रमुख र गाउँपालिका अध्यक्षहरुले पदबहालीका क्रममा जनताका लागि सुविधा बढाउने घोषणाको लहर नै चलेको छ । यसै क्रममा मटिहानी नगर प्रमुख हरिप्रसाद मण्डलले आफ्नो दोस्रो कार्यकालको पदबहाली गर्दै आगलागी नियन्त्रण प्रयोजनका लागि दमकल किन्ने र छोरी शिक्षालाई थप प्रभावकारी बनाउन नगरक्षेत्रका विद्यालयमा अध्ययनरत ११ कक्षाका सबै छात्रालाई साइकल उपलब्ध गराउने घोषणा गर्नुभयो ।

“मधेशमा गर्मी याममा आगलागीका घटना बाक्लै हुँदै आएका छन् , जिल्लामा जलेश्वर नगरपालिकासँगमात्र दमकल छ, तसर्थ जिल्लाभरि नै सेवा दिन सकिने गरी दमकल किन्ने निणर्य गरेका छौं” नगर प्रमुख मण्डलको भनाइ छ । यसैगरी उच्च शिक्षामा छोरीको पहुँच बढाउन ११ कक्षाका छात्रालाई साइकल दिइने उहाँले बताउनुभयो । यसअघि मटिहानीका कक्षा-८ देखि १० सम्मका छात्राले मधेश प्रदेश सरकारको ‘बेटी बचाउ, बेटी पढाउ’ कार्यक्रमअन्तर्गत साइकल प्राप्त गरी सकेका छन् ।

जिल्लाभरि नै नवनिर्वाचित जनप्रतिनिधिले जनताका लागि भन्दै सुविधा घोषणा गरिनु सकारात्मक पक्ष भएपनि यस्तो घोषणापूर्व जनअपेक्षा, स्थानीयतहको आर्थिक सामथ्र्य र घोषणा गरिने विषयको प्रभावकारिताबारे गहन अध्ययन गरिन आवश्यक रहेको बुद्धिजीवीले औंल्याएका छन् । “जनताका लागि सुविधा बढाउन भएका घोषणा सकारात्मक नै होलान् , तर जनताले तत्काल चाहेका चैं के हो ? अपेक्षा सङ्कलन गरेको भए बेस हुन्थ्यो” भङ्गाहा-३ का बासिन्दा समाजशास्त्री शिवराज दाहाल भन्नुहुन्छ, “स्थानीयतहले यस्ता घोषणा गर्नअघि आर्थिक स्रोत बढाउन योजना बनाउनतिर ध्यान दिन भने जरुरी छ ।”

२०७९ जेष्ठ १३, शुक्रबार ०८:१५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय