पोखरा : पोखरा महानगरपालिकाको वडा नम्बर १२ का नवनिर्वाचित वडाध्यक्ष सन्तोष बास्तोलालाई उनकै आमाले कार्यभार हस्तान्तरण गरेकी छन्। संयोग कस्तो भने सन्तोषकी आमा सीता बास्तोलाले वडाध्यक्षकै कार्यभार सम्हाल्दै आएकी थिइन्।

स्थानीय तह चुनावबाट आफ्नै छोरा निर्वाचित भएर वडाध्यक्ष भएपछि सीताले छोरा सन्तोषलाई शुक्रबार कार्यभार हस्तान्तरण गर्न पाइन्। नवनिर्वाचित वडाध्यक्ष सन्तोषकी आमा सीता खासमा पोखरा-१२ की वडा सदस्य हुन्। वडाध्यक्षचाहिँ रामबहादुर कार्की। कार्की भने यतिखेर पारिवारिक भेटघाटको सिलसिलामा विदेश छन्। बाँकी ३ सदस्यले नयाँ निर्वाचन लड्न राजीनामा गरेका थिए। त्यसो हुँदा कार्यवहाक वडाध्यक्षको जिम्मेवारी सीतालाई थियो।

पोखराका नवनिर्वाचित जनप्रतिनिधिले बिहीबार सपथ लिएका थिए। पोखरा-१२ का वडाध्यक्ष सन्तोषले शुक्रबारमात्र पदभार ग्रहण गरे। सौभाग्यबस आफ्नै आमाले हस्तान्तरण गरेको कार्यभार सम्हाल्न पाए। सन्तोष आफ्नै आमाको राजनीतिक उत्तराधिकारी बन्ने भाग्यमानी भएका छन्। कार्यभार सम्हालेलगत्तै वडाध्यक्ष सन्तोषले आफ्नो वडानम्बर जत्तिकै संख्यामा निर्णयहरु गरे। वडाको मुख्य चोकचोकमा सिसी क्यामरा राख्ने र पहिलो महिनाको तलब त्रिशक्ति दुर्गा मन्दिरलाई दिने उनको निर्णय छ। वार्डभरिका खाल्टोहरु सबै टाल्न लगाउने र बाटो छेउका नाली सफा गर्न लगाउने, वार्ड परिसरमा व्यवस्थित पार्क, पार्किङ र बार लगाउने प्रक्रिया सुरु गर्ने निर्णय पनि उनले गरेका छन्।

शीतलादेवी मन्दिर परिसरमा टोल, क्लब र मन्दिर समितिसँग सल्लाह गरेर सार्वजनिक शौचालय निर्माण गर्ने र आरती बाल्ने परम्परा बसाउने, वार्डको मुख्य बाटाहरुमा रङरोगन गर्ने र पोलमा नयाँ बत्ती थप्ने तथा पुरानो बती मर्मत गर्न लगाउने निर्णय वडाध्यक्ष बास्तोलाले गरे। ‘वार्डको काम अनलाइन प्रक्रियामा लैजानलाई वार्ड एप बनाउने र प्रविधिको माध्यमबाट वडाको सूचना तथा जानकारी वडाका सम्पूर्ण नागरिक समक्ष पुर्‍याउने संयन्त्र निर्माण गर्ने अनि गुनासो टिपाउने, अशक्त, सुत्केरी को काम घर मा पुगेर सेवा दिने, वृद्ध भत्ता घर घरमा लगेर दिने,’ वडाको निर्णय छन्, ‘एक घर एक बिरुवा रोप्न लगाउने र रोपेको पुरानो बिरुवामा गोडमेल गर्ने (बिरुवा वार्डले दिने) वडाबासीलाई फ्री एम्बुलेन्स सुविधा दिने, वर्षमा ६ जना गरिब, पिछडिएको वर्गका विद्यार्थीलाई वडाले पढाउने जिम्मा लिने र वडाको ३ वटा सरकारी स्कुलमा वडा कार्यालयले सेनेटरी प्याड नि:शुल्क दिने।’

बाटो निर्माणको सम्झौता (चापापानी मार्ग) र बाँकी कच्ची बाटो पहिचान गरी प्रक्रियागत रुपमा अघि बढाउने कामहरु आफूले तत्काल थालनी गर्ने प्रतिबद्धता बास्तोलाले व्यक्त गरेका छन्। कार्यक्रममा वडाअध्यक्ष बास्तोलाले वडावासीले आफूलाई विश्वास गरेर जिताएको र उनीहरुको विश्वासलाई डगमगाउन नदिने बताए। वडाको भूगोल र विशेषता अनुसार नै नमुना वडा बनाउन विगतमा सुरु भएका कामलाई निरन्तरता दिँदै थप योजना बनाउने उनको भनाइ थियो। नवनिर्वाचित वडाअध्यक्ष सन्तोष बास्तोलासहित सदस्यहरु शान्ति कोइराला, गोमादेवी परियार, शान्तबहादुर थापा, गोविन्दप्रसाद सिग्देलले शुक्रबार पदभार ग्रहण गरे।

२०७९ जेष्ठ १३, शुक्रबार १९:३६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय