
काठमाडौं : काठमाडौं उपत्यकाको यात्रा कष्टर छ । सवारी साधनमा मात्रै होइन यहाँ पैदल यात्रा गर्न पनि समस्या छ । सवारीमा हिँड्यो ट्राफिक जाम । पैदल हिँड्न धुँवाधुलो, हिलो, फोहोर र साउण्ड प्रदूषणले हैरान हुन्छ । हुँदाहुँदा सडक पेटीमा मान्छेकै जाम लाग्छ । निर्माण सामग्रीहरू त्यहीँ झारिएको हुन्छ ।
संघीय राजधानीका कारण जनघनत्वको चाप र त्यसलाई व्यवस्थित गर्न नसक्दा नागरिकहरू कठिन यात्रा गर्न बाध्य छन् । दिनहुँजसो हुने प्रदर्शन, जुलुस पनि कठिन यात्राका कारण बनेका छन् । सार्वजनिक यातायात अव्यवस्थित र असुरक्षित छँदैछ छ । अर्कोतिर निजी सवारीमा यात्रा गर्दा पनि ट्राफिक जामको कारण समयमै गन्तव्य पुग्न सकिंदैन ।
काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक यातायातले जहाँ पायो त्यहीँ रोकेर यात्रु चढाउने गर्दा एकातिर यात्रुहरु चाँडै गन्तव्यमा पुग्न सक्दैनन् भने अर्कोतिर ट्राफिक नियमको पालना हुँदैन ।
त्यसो त सार्वजनिक यात्रा गर्ने यात्रुहरूको सवारीबाट नै मोबाइल, पैसा हराएका घटनाहरू पनि सार्वजनिक भइरहेका हुन्छन् ।
नियमानुसार सिटभन्दा बाहेक यात्रु राखे ट्राफिक कारबाही भोग्नुपर्छ । तर ट्राफिक प्रहरीकै अगाडि यात्रु कोचेर सार्वजनिक बस चलाउने गरिएको छ । यसरी चलाएवापत सार्वजनिक यातयातले दण्डित हुनुपर्दैन । गाडी नपाउँदा यात्रु पनि कोचिएर/झुन्डिएर यात्रा गर्न बाध्य छन् ।
सार्वजनिक यातयातमा कष्टकर यात्रासँगै यात्रुका लागि दुर्घटनाको जोखिमसमेत बढेको छ । निजी तथा सरकारी कार्यालय एकै समयमा खुल्ने भएकोले पनि सडकमा जाम हुने गर्दछ ।
राजधानीको काठमाडौं टुँडिखेल आसपास बजारको विस्तार, चक्रपथबाहिर सरकारी तथा कर्पोरेट कार्यालय नहुनुले पनि सार्वजनिक यातयात भरिभराउ हुन्छन् ।
राजधानीमा व्यवस्थित बसपार्कको अभावमा पनि सडकमा भीड बढ्ने गरेको छ । पछिल्लो समय बस पार्कमा पुगेर आरामले बस चढ्न र गन्तव्यमा जानसक्ने अवस्था छैन ।
तस्वीर सौजन्य : न्युज एजेन्सी नेपाल