म्याग्दी : मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका थप १० जनाको शव आज बिहान कोवाङ ल्याइएको छ।

मानापाथी हिमालको फेदीमा सङ्कलन गरिएका शवलाई कैलाश एअरको हेलिकोप्टरमार्फत कोवाङमा ल्याइएको हो। मुस्ताङका प्रहरी नायब उपरीक्षक रामकुमार दानीले भिरमा अड्किएको एउटा शव निकाल्ने प्रयास भइरहेको बताए। त्यस्तै, बेपत्ता एक जनाको खोजी जारी रहेको छ।

सोमबार नेपाली सेनाको हेलिकोप्टरले १० शव काठमाडौं पुर्याएको छ। आज घटनास्थलबाट कोवाङ ल्याइएका शवलाई पनि काठमाडौं लग्ने तयारी भइरहेको छ।

तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतबार बिहान ९ः५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन–एनएइटी विमान हराएको १९ घण्टापछि सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो।

भौगोलिकरूपमा विकट, कुहिरो लाग्ने, पानी र हिउँ परिरहने भएकाले चार हजार २०० मिटर उचाइको भिरमा छरिएर रहेका शव र यात्रुका सामान सङ्कलन गरेर कोवाङमा ल्याउन ढिलाइ भएको हो। थासाङ गाउँपालिकाको केन्द्र कोवाङबाट घटनास्थल पुग्न चार घण्टा उकालो हिँड्नुपर्छ।

करिब १०० नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, शेर्पा र स्थानीयवासी घटनास्थल पुगेका थिए। अरु फर्किए पनि सेना र प्रहरीको १४ जनाको टोली सानोसरेमा पाल टाँगेर बसेका थिए। घटनास्थल पुगेर फर्किएका स्थानीयवासी इन्द्रसिंह शेरचनले विमानको पखेटा पहाडमा ठोक्किएर तल झरेको देखिने बताए।

‘विमान भिरालो पाखोमा ठोक्किएर तल खोंचमा खसेको देखिन्छ,’ उनले भने, ‘शवहरू धार परेको डाँडामा वल्लोपल्लो पाखामा छरिएका थिए। केही तल्लो डिलमुनि पुगेका थिए।’

सोमबार बिहान ७ बजेतिर यार्चागुम्बा टिप्न गएका बागलुङको बडिगाड गाउँपालिका–७ का विशाल घर्तीले घटनास्थल देखेर प्रहरीलाई खबर गरेका थिए। उनले इन्धनको गन्ध आएपछि पछ्याउँदै जाँदा जहाज दुर्घटनाग्रस्त अवस्थामा र शव छरिएको अवस्था देखेपछि प्रहरीलाई घटनास्थलको फोटो र भिडियो पठाएका थिए।

२०७९ जेष्ठ १७, मंगलवार ०८:४८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय