
काठमाडौं : न्याय माग गर्दै गत २७ जेठदेखि आमरण अनसनमा बसेकी महोत्तरीको जलेश्वर नगरपालिका ९ की सोनाली कुमारी सिंह (निहारिका)ले अनसन तोडेकी छन् ।
निहारिका र सरकारकारबीच पाँच बुँदे सहमति भएपछि उनले अनसन तोडेकी हुन् । राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णा पौडेल खतिवडाको पहलमा सरकारी प्रतिनिधिसँग सहमति भएपछि उनले गृहमन्त्री बालकृष्ण खाणको हातबाट जुस खाएर अनसन तोडेकी हुन् ।
प्रतिवादी शिवराम श्रेष्ठ र निहारिकाका छोराको डीएनए परीक्षणको कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, निहारिका र निजको छोराको सुरक्षा आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत पहल गर्ने, निहारिकाको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्ने, न्याय राज्यका सम्पूर्ण निकाय पीडितमैत्री बनाउन पहल गर्ने लगायतका सहमति दुई पक्षबीच भएको छ ।