
जनकपुरधाम : धनुषामा सञ्चालित ७ दिने आधारभूत पत्रकारिता तालिम मंगलबार सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्य समितिको आयोजन एवं धनुषा शाखाका संयोजनमा अषाढ १ गतेदेखि शुरु भएको आधारभूत पत्रकारिता तालिम अषाढ ७ गते मंगलबार सम्पन्न भएको छ ।
महासंघ धनुषा शाखाका अध्यक्ष मनिका झाको अध्यक्षता तथा मिडिया काउन्सिल मधेश प्रदेशका अध्यक्ष शिवहरी भट्टराईको प्रमुख आतिथ्यमा तालिम समापन गरिएको छ । तालिमको समापन समारोहमा तालिममा सहभागीहरुलाई कार्यक्रमका प्रमुख अतिथि भट्टराई लगायतका विशिष्ट अतिथिहरुले प्रमाण–पत्र वितरण गर्नुभएको थियो ।
सो अवसरमा प्रमुख अतिथि भट्टराई कृषिको षेत्रमा कलम चलाउन तालिम लिएका नव पत्रकाहरुलाइ आग्रह गर्नुभयो । उहाँले पत्रकारितामा ईमान्दारिता पूर्वक कलम चलाउन समेत सुझाव दिनुभयो ।
आधारभूत पत्रकारिता तालिमको समापनमा आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्याम सुन्दर यादव, पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेश कुमार कर्ण, महासंघका केन्द्रीय सदस्य रिंकु गायत्री मिश्र, महासंघ धनुषा शाखाका पूर्व अध्यक्ष उमेश साह, पत्रकार श्याम सुन्दर शशी, महासंघका केन्द्रीय कार्य समितिक कार्यक्रम संयोजक राम प्रसाद दहाल लगायतको उपस्थिति रहेको थियो ।
सो तालिममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष तथा हालै राष्ट्रिय समाचार समितिका अध्यक्षमा नियुक्त हुनुभएका धमेन्द्र झाले सहभागीहरुलाई आधारभूत पत्रकारिता तालिम दिनुभएको छ ।
ईन्टरनेश्नल अलर्ट र युरोपियन युनियनको सहयोगमे सम्पन्न सो तालिममा धनुषा जिल्लाका ४० जना महिला र पुरुष नव पत्रकारहरुको सहभागिता रहेको थियो । तालिम नेपाल पत्रकार महासंघ धनुषा शाखाको सभाहलमा आयोजना गरिएको थियो ।