महोत्तरी : भारतसँग सीमा जोडिएका महोत्तरीका ग्रामीण गल्छिडा हुँदै नेपालबाट भारततर्फ मदिरा तस्करी हुन थालेको छ।

जिल्लाको सुदूरपूर्वी मटिहानी नगरपालिकाबाट सोनमा गाउँपालिकासम्मका सीमावर्ती क्षेत्रका दर्जनौँ चोरबाटो हुँदै मदिरा तस्करीमा वृद्धि भएको हो।महोत्तरीको भारतीय सीमासँग जोडिएको करिब ३९ किलोमिटरभित्र क्रमशः मटिहानी, जलेश्वर, एकडारा, मनराशिशवा, सम्सी र सोनमासमेत ६ स्थानीय तह पर्छन्।

सीमा क्षेत्रका कतिपय ठाउँमा दुवैतर्फ जोडिएर रहेका झुरुमुट्ट बस्ती र ग्रामीण गल्छिडा (चोरबाटा, सडक नभएको मान्छेमात्र हिँड्न सक्ने गोरेटो बाटो) हुँदै मदिरा भारततर्फ लाने गरेका पाइएको हो।

यही असार महिनाका हालसम्मको अवधिमै पाँच ठाउँबाट प्रहरीले भारततर्फ लाँदै गरेका मदिरा नियन्त्रणमा लिएको छ। यो कारोबारमा बढी भारतीय नै समातिएका छन्।

यसरी नियन्त्रणमा लिइएका मदिरामा गाउँघरमै बनाइएका र विदेशी सिलप्याकका पाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए। प्रहरीको कम पहुँच हुने स–साना गल्छिडा तस्करले बढी प्रयोग गर्ने गरेका पाइएको छ।

पछिल्लोपटक जिल्लाको सीमावर्ती बस्ती नैन्ही, मधवा, बथनाहा, मलिबारा र मटिहानीबाट मदिरा बरामद भएको छ। धेरैजसो पैदल नै र यदाकदा सीमा कटाउन तस्करले मोटरसाइकल प्रयोग गरेका पाइएको विष्टले बताए।

सीमापारि भारतको बिहारमा मदिरा बिक्रीवितरण र उत्पादनमा पूर्ण प्रतिबन्ध छ। त्यसैले मदिरा चोरी लुकाइ भारततर्फ लाने क्रम बाक्लिएको जनाइएको छ। सीमावर्ती क्षेत्रका नेपाली बस्तीमा छ्यासछ्यास्ती खुलेका भट्टी पसलमा पनि भारतीय ग्राहक नै बढी पाइने गरेका छन्।

२०७९ असार १२, आईतवार ०७:३३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय