
बर्दिबास : महोत्तरीका पत्रकार ललनकुमार मण्डलमाथि भएको हातपात घटनाको पत्रकारसम्बद्ध सङ्घ, सङ्गठनले निन्दा गरेका छन् ।
एकजना मिटरब्याजीसँग सम्बन्धित घटनाको रिपोर्टिङ्गका क्रममा गत सोमबार जिल्लाकै गौशाला बजारमा पत्रकार मण्डलमाथि भएको हातपातको नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखा र अन्य पत्रकारसम्बद्ध सङ्घ, सङ्गठनले आज बुधबार विज्ञप्ति नै प्रसारित गरेर निन्दा गरेका हुन् ।
महासङ्घ महोत्तरी शाखाका सचिब राजकरण महतोले स्वतन्त्र रुपमा समाजमा घटित घटनाबारे सोधपुछ गर्दा पत्रकार मण्डलमाथि आक्रमण गरी हातपात गरिएको घटना निन्दनीय भएको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । महासङ्घ महोत्तरी शाखाको बुधबार प्रसारित विज्ञप्तिमा घटनाबारे सत्यतथ्य छानविन गरी दोषीउपर कार्वाहीको माग गरिएको छ । त्यसैगरी जिल्लाका पत्रकारसम्बद्ध स्वतन्त्र सङ्गठनहरु नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले संयुक्त विज्ञप्ति जारीगर्दै पत्रकार मण्डलमाथि भएको हातपात घटनाबारे छानविन गरी सबै दोषीउपर कार्वाहीको माग गरिएको छ ।
युनियनका जिल्ला अध्यक्ष रविन्द्र उप्रेति, चौतारीका जिल्ला अध्यक्ष नवीन प्रियदर्शी र सेन्टरका जिल्ला अध्यक्ष धनवीर महतोले जारी गर्नुभएको संयुक्त विज्ञप्तिमा पत्रकार मण्डलमाथि आक्रमण गर्ने र मिटरव्याज असुलेर सिधासाधा जनताको विल्लीबाठ पार्नेलाई तत्काल कार्वाही गर्न माग गरिएको छ । महासङ्घ महोत्तरी शाखाका सदस्य तथा बर्दिबास नगर पत्रकार सञ्जालका अध्यक्ष पत्रकार मण्डल नेपाल प्रेस युनियनका केन्द्रीय परिषद सदस्य पनि हुनुहुन्छ । न्युज-२४ (न्युज ट्वान्टीफोर) सञ्चारमाध्यममा आबद्ध पत्रकार मण्डललाई सञ्जय रौनियारसहितका केही व्यक्तिको समूहले सोमबार मिटरब्याजी घटनाको सोधखोजका क्रममा आक्रमण गरेका थिए ।
यसैबीच नेपाल प्रहरीले पत्रकार मण्डलमाथि हातपात गर्नेमध्ये सञ्जय रौनियारलाई पक्राउ गरी आवश्यक छानविन थालिएको जनाएको छ । इलाका प्ररी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक रवि रावलले घटनासम्बद्ध अन्य आरोपीको खोजविन भइरहेको जानकारी दिनुभयो ।