काठमाडौं : लगातारको वर्षाबाट आएको बाढीले उदयपुरको बेलका नगरपालिका– ८ लाहुरे खोच डुम्रीबोटेमा सप्तकोसी नदीको बाँध फुटी नदी बस्तीमा पसेको छ ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार, बुधबार बिहान करिब ४ बजेतिर सप्तकोसी नदीको बाँध फुटेर पुरानै धारमा फर्किएको हो । नदीको पानी दुई–तीन किलोमिटरभित्र बस्तीमा पुगेपछि करिब दुई हजार पाँच सय घर प्रभावित भएका छन् ।

‘अहिले बस्ती भएको ठाउँमा पहिले खोला बग्ने गर्थ्याे । नदी पुरानै धारमा फर्केपछि उदयपुरको बेलका नगरपालिका, सुनसरीको बराह क्षेत्र नगरपालिका, सप्तरीको सप्तकोसी र कञ्चनरुप नगरपालिकाका बस्ती बाढीको उच्च जोखिममा छन्,’ प्रमुख अधिकारी यादवले टेलिफोनमार्फत भने, ‘बाँध लगाएर नदी आसपास बनाइएका बस्ती बाढीबाट प्रभावित भएका हुन् ।’

बाढीबाट सबैभन्दा बढी प्रभावित भएको बेलका नगरपालिकाकी उपप्रमुख जिरा राईका अनुसार, सबैतिर गरी अहिलेसम्म एक हजार घर डुबानमा परेका छन् भने १५ सय घर डुबानको उच्च जोखिममा रहेको सूचना छ । ‘बेलका नगरपालिकाको वडा ३, ८ र ९ डुबानमा परिसकेको छ,’ उपप्रमुख राईले टेलिफोनमार्फत भनिन्, ‘वर्षा कम नभए अब वडा २ पनि डुबानमा पर्छ । वर्षा सुरु भएदेखि नै सचेत गराउँदै आएकाले मानवीय क्षति भएको छैन ।’

आफूहरू अहिले बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि खटिएको उपप्रमुख राईको भनाइ छ । उनका अनुसार, डुबानमा परेका एक हजार परिवारलाई सुरक्षित स्थानमा ल्याइएको छ । जोखिममा रहेका १५ सय परिवारलाई नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी, स्थानीय स्वयंसेवकले उद्धार गरिरहेका छन्।

‘कतिपयले चौपायाँसहित घरबाट निस्किन भ्याएका छन् भने कतिले एकसरो लुगा समेत निकाल्न पाएनन्,’ उनले भनिन्, ‘डुबानको जोखिममा भएका धेरैलाई सुरक्षित स्थानमा लगिसकेका छौँ । घर, चौपाया, खाद्यान्न छोड्नुपर्ने पीर गरी कतिपय परिवार घरभित्रै बसिरहेका छन् । उनीहरूलाई पनि सुरक्षित ठाउँमा लैजाने पहल भइरहेको छ ।’

प्रमुख जिल्ला अधिकारी यादवका अनुसार, उद्धार गरेका व्यक्तिलाई व्यवस्थापनको कार्य भइरहेको छ । ‘वर्षा कम नभए व्यवस्थापनमा समेत कठिन हुने देखिन्छ,’ उनले भने ।

२०७९ श्रावण १८, बुधबार १६:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय