
काठमाडौं : नेकपा एमालेका युवा नेता महेश बस्नेतले पछिल्ला दिन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले गर्दै आएको कार्यप्रति व्यापक असन्तुष्टी जनाएका छन् ।
पछिल्ला दिन प्रमुख शाहले काठमाडौं महानगर भित्र अवैध तरिकाले निर्माण गरिएका संरचना भत्काउने कार्यलाई तीव्रता दिएका बालेनप्रति असन्तुष्टी जनाउँदै बस्नेतले शाहलाई सामाजिक सञ्जालमा तिखो प्रहार गरेका छन् ।
‘एउटा प्रोग्राम सकेर जस्ट घर पुगे बालेनजीको टिप्पणी हेरें खुसी लाग्यो । तपाईलाई सबैको घरको नक्सा हेर्ने भुत सवार भएछ । मेरो घरको नक्सा हेर्न मन भए सूर्यविनायक नगर पालिकामा काजमा आउनुहोला,’ बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । ‘तपाइँलाई भत्काउने र ध्वंस गरेर हिरो हुन्छु भन्ने लाग्या होला । हाम्रोतिर ध्वंस होइन निर्माणको लहर चलेको छ । यताका डोजरमा मेयर चढ्दैनन् ड्राइभर चढ्छन् । डोजर चलाउन रहर भए ड्राइभिङ सिकेर आउनुहोला,’ बस्नेतले शाहलाई निम्तो दिएका छन् ।
उनले थपेका छन्, ‘विगतका यस्ता २,४ सय फेसबुके फ्यान भएका म्यान अहिले कहाँ छन् खोज्नै पर्ने भाको छ । गाली गलौजको संस्कृति हाम्रो संस्कृति होइन । त्यसको विकास र प्रोत्साहनमा अहिले त रमाइलै होला पछि तपाईंका बिरोधीले पनि त्यही शैली अपनाए भने गाह्रो होला।’