
वीरगञ्ज : बाराबाट प्रहरीले प्रतिबन्धित लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।
सिन्धुली कालापानी गाउँपालिका- १ बस्ने २४ वर्षीय पूर्णप्रसाद दाहाल पक्राउ परेका हुन् । उनी प्रदेश २-०३-००१ ख ३६२३ नं.को रोयल सिंघम बसका सहचालक हुन् ।
बाराको जीतपुर सिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट उनलाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको थियो । प्रहरी चौकी पथलैयाको टोलीले चेकजाँचको क्रममा उनलाई लागुऔषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रहरी टोलीले वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेकोे बसलाई रोकेर चेकजाँच गरेको थियो । बसको पछाडि तर्फको डिक्कीमा सेतो प्लाष्टिकको झोलाभित्र पत्रिकाले बेरेर टेप लगाएको अवस्थामा प्रतिबन्धित लागुऔषध २०६० थान बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराक प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।
उनका अनुसार झोलामा डाइजेपाम र फेनारगन ५८८/५८८ र नुफिर्न ५८७ एम्पुल तथा नाइट्राभेट-१० लेखिएको ट्याबलेट ३०० थान फेला परेको थियो ।
पक्राउ परेका दाहाललाई इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखिएको छ ।
उनीविरुद्ध लागुऔषध सम्बन्धि कसूरमा बारा जिल्ला अदालतमा मुद्दा दर्ता गरि ७ को म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।