
काठमाडाैं : नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरिको व्यक्तिव्यक्तित्वबारे चर्चा गरिएको छ। नेपाल मानवअधिकार सङ्गठनले यहाँ आज आयोजना गरेको ‘समाजवादी एवं राजनीतिज्ञ प्रदीप गिरिप्रति श्रद्धाञ्जली’ कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता र मानव अधिकारर्कीले बौद्धिक नेता गिरिको व्यक्तित्वबारे चर्चा गरे।
पूर्वसभामुख दमननाथ ढुङ्गानाले स्व गिरि जनताका निम्ति बाँचेको र जनताकै निम्ति मृत्यु भएको टिप्पणी गर्दै समाजले अहिले वास्तविक प्रदीप गिरि खोजिरहेको बताए। नेकपा (एमाले)का नेता रघुजी पन्तले स्व गिरि सङ्गठक नभएर बौद्धिक व्यक्तित्व र त्यगी नेता भएको बताउँदै उनबाट नेपाली राजनीति र अन्य क्षेत्रले समेत सिक्नुपर्नेमा जोड दिए।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले पछिल्लो समय राजनीति पद र पैसाकै निम्ति गरिएको सन्दर्भ उल्लेख गर्दै नयाँ पुस्ताले स्व गिरिबाट सिक्नुपर्ने धारणा राखे। मानवअधिकारकर्मी कपिल श्रेष्ठले ‘प्रदीप गिरिले परम्परागत समाजवादीभन्दा पनि माथिको समाजवाद र स्वतन्त्रता चाहनुहुन्थ्यो,’ भने। नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तारानाथ दाहालले प्रदीप गिरि बहुआयामिक व्यक्तित्व, चिन्तक र समाजलाई बुझ्नसक्ने व्यक्तित्व भएको चर्चा गरे।
पचहत्तर वर्षीय गिरिको उपचारका क्रममा यही भदौ ४ गते शनिबार राति ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको थियो। समाजवादी चिन्तक एवं सांसद गिरिको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो।
गिरी विसं २०५१, २०६४, २०७०, २०७४ गरी चार पटक सांसद बनेका थिए। राजनीतिक वृत्तमा एक बौद्धिक छवि भएका नेताका रूपमा परिचित नेता गिरि विसं २००४ कात्तिक १७ गते सिराहमा जन्मिएका थिए। विसं २०१७ देखि सक्रिय राजनीतिमा पाइला चालेका गिरिले राजनीतिक सङ्घर्षका क्रममा २०२५ सालमा १८ महिना र २०४२ सालमा झण्डै एक वर्ष जेल जीवन बिताएका थिए। उनी सरल, मिलनसार, गान्धीका अनुयायी, माक्र्सवादका ज्ञाता, कांग्रेस–कम्युनिष्टको साझा मार्गदर्शक थिए।