
नेपालवाणी / जनकपुरधाम
नेकपा एमाले र जनता समाजवादी पार्टीले चुनावी तालमेलमा धनुषाका दिग्गज नेता तथा निवर्तमान सांसद चुनावबाट वञ्चित भएका छन् । सत्ता गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टीको प्रवेशले नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री रामचन्द्र झा निर्वाचनबाट बञ्चित भएका हुन् ।
यसैगरी एमाले तथा जसपाबीचको तालमेलमा एमालेका निर्वतमान प्रदेशसभा सदस्य किशोरी साह कमलले टिकट पाउन नसकेको हो । झा धनुषाको क्षेत्र नं. २ प्रतिनिधिसभा र साह धनुषा क्षेत्र नं. १ (क) बाट चुनावमा भाग लिनबाट बञ्चित भएका हुन् ।
सत्ता गठबन्धनको चुनावी तालमेलमा क्षेत्र नम्बर २ कांग्रेसको कोटामा गएपछि झा, ३ बाट चुनाव लड्ने मानसिकता बनाएपनि लोसपाको प्रवेशसँगै झा मैदानबाट बाहिरिएका छन् । लोसपा गठबन्धनमा नआएसम्म गठबन्धनले धनुषा ३ मा मजबुत उम्मेदवारको खोजीमा रहेको एकिकृत समाजवादीले झालाई लडाउने तयारी गरेको थियो ।
यता एमाले–जसपाको गठबन्धनले १ (क) जसपाको कोटामा गएपछि कमलले टिकट पाउने सम्भावना गुमेको छ । उनले अब टिकट नपाउने भएपछि स्वतन्त्रबाटै उम्मेदवारी दिने निर्णय गरेका छन् । उनले चुनावी तालमेलमा आफू समावेश हुन नसकेपछि स्वतन्त्रबाटै उम्मेदवारी दिने बताएका छन् ।