
गोविन्द महतो / जनकपुरधाम
विमलेन्द्र निधिको पैतृक क्षेत्र धनुषा ३ मा लोसपाका नेता अनिल झा र एमाले नेतृ जुली महतोबीच प्रतिस्पर्धा हुने भएको छ । विमलेन्द्र निधिको पैतृक गाउँ तथा लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो विजयी क्षेत्रमा अनिल झा र जूली महतो बीच प्रतिस्पर्धा हुने भएको हो । यो क्षेत्र निवर्तमान सांसद राजेन्द्र महतो वियी क्षेत्र हो, भने विमलेन्द्र निधिका बुवा महेन्द्र नारायण निधि देखि विमलेन्द्र निधि सम्मले जित्दै आएको क्षेत्र हो ।
सत्तारुढ गठबन्धनबाट लोसपाका नेता अनिल झासंगै प्रदेश सभातर्फ ३ (क) मा नेपाली कांग्रेसका वहालवाला मन्त्री रामसरोज यादव र ३ (क) मा लोसपाका निवर्तमान सांसद धनुषा जिल्ला अध्यक्ष परमेश्वर साहले उम्मेदवारी दर्ता गराएका हुन् । एमाले–जसपा गठबन्धनबाट जुली महतोसंगै ३ (क) मा प्रदेशसभाका लागि मुख्यमन्त्रीका स्वकीय सचिव जितेन्द्र यादव र धनुषा ३ (ख) मा एमालेबाट दीपेन्द्र ठाकुरले उम्मेदवारी दर्ता गराएका छन् ।
२०७० संविधानसभाको निर्वाचनमा कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिबाट पराजित भएकी थिइन भने २०७४ मा समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनेकी थिइन् । पूर्वमन्त्री महतोले भने, ‘यो मेरो मात्र उम्मेदवारी होईन, सम्पूर्ण जनताको उम्मेदवारी हो मलाई यो क्षेत्रको जनताले गरेको अगाध माया स्नेहले नै उम्मेदवारी दर्ता गराउन प्रेरित भएकी छु ।’
प्रतिनिधिसभा तर्फका झा यसअघिको निर्वाचन रौतहट–१ बाट विजयी भएका थिए । तर गठबन्धन भित्र रौतहट १ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई दिने भएपछि नेता झाको रोजाई धनुषा–३ बनेको हो । नेता झाले गठबन्धनले उम्मेदवार बनाएकोले लोसपा नेपालले जितेको क्षेत्रमा त्यसैलाई निरन्तरता दिनु स्वभाविक भएको बताए ।
उनले भने, ‘जनकपुरधाम मधेश प्रदेशको राजधानी हामीले बनाएका हौं । संघीयता हामीले ल्याएका हौं । त्यसैले यहाँको राजधानीमा हाम्रा अग्रजले गर्न बाँकी रहेका कामहरु मैले पूरा गर्नुपर्ने छ ।’ प्रदेशको राजधानी र देशको मुटुबाटै संघीयता, मधेशवाद र लोकतन्त्रको साथै एक दशक भन्दा बढी देशको लोकतन्त्र र मधेशीको अधिकारको निमित्त लडेको व्यक्ति यहाँको प्रतिनिधित्व गर्दा व्यक्तिकोस्थानको पनि इज्जत बढ्ने भएकोले आफूले मधेशको मुटुबाट निर्वाचनमा होमिएको बताए ।
मुख्यतः झा र महतो प्रतिस्पर्धी रहेपनि गठबन्धनका नेता विमलेन्द्र निधिको क्षेत्रमा उनकै बोलबाला हुन्छ । उनले निर्वाचनमा कस्तो भुमिका निर्वाह गर्छ, त्यो हेर्न लायक हुन्छ र यसैको आधारमा निर्वाचनमा हारजीत हुन्छ ।
मधेश आन्दोलनको रापतापमा २०७४ को निर्वाचन विजयी जस्तो मधेशवादी दलका लागि अहिले फलामको चिउरा चपाए जस्तो हुन्छ । मधेश केन्द्रित दलहरु जसपा र लोसपा दुई अलग गठबन्धनमा छन् । मधेश आन्दोलनको प्रभाव पनि कम छ । स्थानीय सरकारमा लोसपाको पकड पनि छैन ।
अंकगणितमा गठबन्धन बलियो
धनुषा ३ मा जनकपुरधाम उप–महानगरपालिकाको १७ सहित ३८ वटा वडा पर्छ । जसमा नगराइन नगरपालिका, मुखियापट्टी मुसहरनिया, धनौजी गाउँपालिका र विदेह नगरपालिकाको एक वडा यो क्षेत्रमा पर्छ । स्थानीय तहमा मतपरिणाममा गठबन्धन बलियो देखिन्छ । ३८ मध्ये काँग्रेस १९, लोसपा ३, एकिकृत समाजवादी १ गरी २३ वडामा जितेको छ । एमालेले ११, जसपाले ४ गरी १५ वडा मात्र जितेको छ ।
स्थानीय निर्वाचनमा पाएको मत अनुसार गठबन्धन अगाडी देखिन्छ । काँग्रेस २२४२९ मत पाएका छन् भने एमालेको १६०१६ मत पाएको छ । जसपाले ८२२४ र लोसपाले ८१६३ मत प्राप्त गरेको छ । त्यस्तै नेकपा समाजवादीले ३७१३ र नेकपा माओवादी केन्द्रले ६५६ मत प्राप्त गरेको छ । यसरी कुल मत जोड्दा ३४९६१ मत गठबन्धनको हुन्छ । भने एमाले–जसपाको २४२४० मत मात्र हुन्छ । यस अंकगणितले गठबन्धनको जित सुनिश्चित देखाउँछ ।
यस्तो छ राजनीतिक विश्लेषण
‘धनुषा जनकपुरधाम आसपासका क्षेत्रहरु डेमोक्रेटिभ हो । यहाँ काँग्रेसले मात्र जित्दै आएको ईतिहास छ । बोहर्वा र लोहना खाँटी डेमोक्रेटिक गाउँ नै हो भन्दा पनि हुन्छ ।’ राजनीतिक विश्लेषक नित्यानद मण्डलले काँग्रेस नेता महेन्द्रनारायण निधिले जित्दै आएको क्षेत्र भएपनि पहिले काँग्रेस भर्सेज एण्टी काँग्रसे हुने गरेको बताए । जसको परिणाम २०४६ पछि विमलेन्द्र निधिलाई हराएर राप्रपाले निर्वाचन जितेपनि जनतालाई साथ दिएन र अन्तत फेरी विमलेन्द्र निधिको पोल्टामा क्षेत्र गएको बुझाई छ ।
उनले भने, ‘विमलेन्द्र निधिले चुनाव जितेको बेला बामपन्थी धारको कुनैपनि सबल उम्मेदवार भएन ।
सामान्य शिक्षक हरिदेव मण्डल वामपन्थी धारबाट उम्मेदवार त भए तर विमलेन्द्र निधिको तुलनामा ह्यावीवेट भएन । तर २०७४ को प्रतिनिधिसभा निर्वाचनमा ह्यावीवेट राजेन्द्र महतोसंग विमलेन्द्र निधिले हार व्यहोर्नुप¥यो ।’ विश्लेषक मण्डलले अबको निर्वाचनमा जातिय फयाक्टर समेत काम गर्ने सुनाए । धनुषा ३ मा झा र महतोको फयाक्टर हेर्ने हो भने ब्राह्मणहरु एकत्रित हुन सुरु भैसकेको छ । जसमा १२ हजार मतदाता ब्राह्मण छन् जसले जूलीलाई सकस बनाउँछ । अहिले द्विपक्षिय काष्ट पोलिटिक्स हुने स्थिति छ । यस्तो स्थितिमा जनकपुरको तेली, सुडी, कलवार लगायतका समूदाय समेत एकत्रित हुदैछ ।