
काठमाडाैं : मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले सत्तारुढ गठबन्धन दलमा आबद्ध सबै मन्त्रीहरूलाई बर्खास्त गर्ने तयारी गरेका छन् ।
संघीय सरकारले जनता समाजवादी पार्टी (जसपा) का चार मन्त्रीहलाई बिहीबार हटाएसँगै मुख्यमन्त्री राउतले यस्ताे गर्ने भएका हुन्।
मधेस प्रदेशमा अहिले जसपा‚ नेपाली कांग्रेस‚ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको संयुक्त सरकार छ।
प्रदेश सरकारमा कांग्रेसकाको तर्फबाट ३ मन्त्रीहरू भौतिक पूर्वाधार तथा यातायातमन्त्री रामसरोज यादव‚ खानेपानी तथा ऊर्जामन्त्री ओमप्रकाश शर्मा र महिला बालबालिका तथा खेलकुदमन्त्री वीरेन्द्र सिंह र माओवादी केन्द्रको तर्फबाट गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह र गृह तथा सञ्चार राज्यमन्त्री रुवी कर्ण रहेका छन् ।
यसैगरी एकीकृत समाजवादीको तर्फबाट मन्त्री बनेका उद्योग‚ वन‚ पर्यटन तथा वातावरणमन्त्री शत्रुघन महतो र प्रदेशसभा तथा कानुनमन्त्री प्रमोद यादव रहेका छन्।