बर्दिबास : सत्तारुढ पाँच दलीय गठबन्धनले महोत्तरी-१ मा आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन-२०७९ को प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । बर्दिबासमा पत्रकार सम्मेलन आयोजना गर्दै गठबन्धनले आज बुधबार साँझ १० बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो ।

सार्वजनिक प्रतिबद्धतामा यसअघि लगातार तीन पटक यसै निर्वाचनक्षेत्र (२०६४ र २०७० मा सम्विधानसभा क्षेत्र, २०७४ र २०७९ को प्रतिनिधिसभाक्षेत्र) बाट साँसद निर्वाचित गिरिराजमणि पोखरेल यसपालि प्रतिनिधिसभाका लागि गठबन्धनका साझा उमेद्वार हुनुहुन्छ । पोखरेल र यसै क्षेत्रको ‘ख’ प्रदेशसभा क्षेत्रका सदस्य भरतप्रसाद साह यसपटक फेरि पूर्वपदमै उमेद्वार बन्नु भएको हुँदा प्रतिबद्धतापत्रको पहिलो बुँदामा अधुरा काम पूणर् गरिने जनाइएको छ ।

नेकपा माओवादीकेन्द्रका उपमहासचिबसमेत रहनुभएका प्रतिनिधिसभाका उमेद्वार पोखरेलले गौशालामा रेल्वे इञ्जिनियरिङ्ग कलेज बनाइने प्रतिबद्धतापत्र सुनाउनुभयो । जिल्लामा यस गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादीकेन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल आबद्ध छन् । केन्द्रीय गठबन्धनमा आबद्ध राष्ट्रिय जनमोर्चाको भने यस जिल्लामा गतिविधि देखिदैन ।

महोत्तरी-१ प्रतिनिधिसभा क्षेत्रभित्रका दुई प्रदेशसभामा गठबन्धनका तर्फबाट ‘क’ मा लोसपाका पिताम्वर महतो र ‘ख’ मा नेकपा माओवादीकेन्द्रका भरतप्रसाद साह उमेद्वार हुनुहुन्छ । गठबन्धनमा नेकपा एकीकृत समाजवादी आबद्ध भएपनि महोत्तरी-१ ‘क’ र महोत्तरी-२ ‘क’ प्रदेशसभामा भने यो दलले आफ्नो छुट्टै उमेद्वारी दिएको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएका प्रतिबद्धतापत्रका अन्य बुँदामा कृषिमा पुनर्जागरणःनागरिकको जीवनमा रुपान्तरण, दिगो विकासको आधारःसार्वजनिक शिक्षाको गुणस्तर सुधार, चुरे वन-समुदायको धनः समुन्नत जीवन, हाम्रो सरोकारः युवा केन्द्रित रोजगार र आधारभूत विकास पूर्वाधारः समुन्नत महोत्तरी निर्माणको आधारसहितका बुँदा छन् ।

त्यसैगरी दुव्र्यशनविरुद्ध अभियान, सामाजिक सुरक्षा, पर्यटन विकास र पर्यावरणीय सुरक्षाका बुँदा प्रतिबद्धतापत्रमा उल्लेख छन् । प्रतिबद्धतापत्रमा घरबास भएका जग्गाको नापी र लालपूर्जा वितरणको काम र बर्दिबास मेडिकल कलेज निर्माणको कानूनी अड्चन निदान गर्दै काम अघि बढाइने उल्लेख छ ।

गठबन्धनले सार्वजनिक गरेको प्रतिबद्धतापत्रबारे आम सर्वसाधारणले प्रतिकृया दिन थालेका छन् । प्रतिबद्धतापत्रमा उल्लेखित बुँदाहरु जनसरोकारका भएपनि पोखरेल १५ वर्षदेखि साँसदमात्र नभएर पटकपटक मन्त्रीसमेत हुँदापनि भूमिहीन र घरबसोबासीको लालपुर्जा पाउने आश अधुरै रहेको सर्वसाधारणको टिप्पणी छ । त्यसैगरी बर्दिबास मेडिकल कलेजको विषय पनि प्रत्येक चुनावमा जोड्न काम अधुरो राखिएको टिप्पणी गर्ने यहाँ बाक्लै भेटिएका छन् ।

२०७९ कार्तिक २३, बुधबार १९:३३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय