
रौतहट : रौतहटको यमुनामाई गाउँपालिका-४ स्थित जनता माध्यमिक विद्यालयका छात्रालाई दुर्व्यवहारको आरोपमा विद्यार्थीले शिक्षकलाई नियन्त्रणमा लिएर कुटपिट गरेका छन् । अभिभावकसहित आएर विद्यालय घेराउ गरी ढुंगामुढा गरेपछि स्थिति तनावग्रस्त बनेको छ ।
कक्षा ५ मा अध्ययनरत एक छात्रालाई शिक्षक विजय सिंहले दुर्व्यवहार गरेको विद्यार्थीहरूको आरोप छ । शिक्षक सिंहलाई विद्यार्थीले नियन्त्रणमा लिएर कुटपिट गर्न थालेपछि प्रहरी घटनास्थल पुगेको थियो ।
प्रहरीले शिक्षक सिंहलाई उद्धार गर्ने क्रममा विद्यार्थी र अभिभावकले ढुंगामुढा गरेका थिए । सोक्रममा झडप भएको साथै प्रहरीले दुई राउण्ड हवाई फायर गरेको रौतहटका प्रहरी प्रवक्ता डीएसपी माधव यादवले नेपाल प्रेसलाई बताए ।
छात्रालाई शिक्षकले दुर्व्यवहार गरेकोबारे उजुरी भने आइनसकेको यादवले जानकारी दिए । अहिले शिक्षक सिंहलाई प्रहरी सुरक्षा घेरामा राखिएको छ ।